सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन गर्न माघे संक्रान्ति मेला लाग्ने भएको छ । म्याग्दी भ्रमण बर्षको समेत अवसर पारी आगामी पुष ३० र माघ १ गते म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजना तथा जिल्लाका सबै स्थानीय तहको सह आयोजनामा मेला गरिने भएको हो ।

मेलाका बारेमा जानकारी दिन बुधबार सााँझ आयोजित पत्रकार सम्मेलनमा म्याग्दीको सदरमुकाम बेनीको प्रवेशद्धार कालिपुल बसपार्कमा हुने दुईदिने मेलामा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादनका स्टल राखिने मूल संयोजक एवम् महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताईन् । मेलाको अवसरमा एकल नृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण बर्ष बिषयमा गीत, खुल्ला लोकगित प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगिता समेत गरिने बताईन् ।

‘उद्योग, ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक लगाएत सम्रग क्षेत्रलाई समेटेर कालिपुलमा स्थापना गरिएको पर्यटक सूचना केन्द्रमा प्रवेश गर्ने पर्यटकलाई डकुमेन्टी प्रर्दशन तथा होटलमा समेत छुटको सुविधा रहेको बताइएको थियो । संघको अगुवाईमा मनाइरहेको म्याग्दी भ्रमण बर्षमा आन्तरिक पर्यटक भित्राउने गरी जिल्ला बाहिर समेत प्रचारप्रसार गरिने संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।

कालिपुल बसपार्क तथा आसपासमा क्षेत्रको हिलाम्मे सडक मर्मतमा समेत नगरपालिकालाई बजेट माग समेत गरिने बताए । मेलाको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा महिला उद्यम विकास तथा संघका पदाधिकारीको सहभागिता रहेको थियो । मेलामा कुल ७ लाख ३५ हजार आम्दानी तथा ६ लाख ७० हजार खर्च गरी ५५ हजार आम्दानी गर्ने लक्ष्य रहेको छ । पत्रकार सम्मेलनको सञ्चालन उद्यम विकास समितिकी सचिब विष्णु गुरुङले गरेकी थिईन् ।