ब्यक्तिगत खर्चमा एक स्थानीयले कालिपुलको ढल मर्मत

0

म्याग्दीको सदरमुकाम बेनी प्रवेशद्धार कालिपुलमा नाली ब्यवस्थापन नहुदाँ ठाउँ–ठाउँमा सान–साना खाल्डाखुल्डीमा पानी जम्दा पोखरी जस्तै बनेको सडकलाई सफा बनाउन एक स्थानीयले ब्यक्तिगत लगानीमा नाली मर्मतकार्य सुरू गरेका छन् । पटकपटक सडक तथा नाली मर्मतमा बेनी नगरपालिकालाई अनुरोध गरिएपनि बेवास्ता भएपछि स्थानीय खेम केसीले ब्यक्तिगत लगानीमा ४ जना कामदार, जेसिभीको समेत प्रयोग गरी मर्मत सुरु गरेका हुन् ।

छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा पर्ने पर्वत बेनीबाट प्रवेश गरेलगत्तै सडकमा दुई पाङ्ग्रे सवारीसाधन र पैदलयात्रा गर्ने यात्रुलाई आवतजावतमा समस्या भएपनि सरकारी निकायबाट आश्वासन मात्रै प्राप्त भएकाले ब्यक्तिगत खर्चमा मर्मत सुरु गरेको केसीले बताए ‘मर्मत सुरू गर्नुप¥यो भन्दा नयाँ बनाउँछौ भन्छन्,‘आश्वासनबाट बाक्क भएर आफै खर्च गरी मर्मत सुरु गरे’ केसीले बेनीअनलाइनलाई भने । करिव २५ देखि ३० हजार खर्च हुने भएपनि सरकारी निकायको उपेक्षालाई सांकेतिक विरोध भएको बताए ।

उनका अनुसार मर्मतको पहिलो दिन पिपलको रुख आसपासबाट जेसिभीको प्रयोग गरी नालीको सरसफाई गरेको बताए । उनले बिहिबार पाँचघण्टा जेसिभीको प्रयोग भएपनि पुरा नभएकाले शुत्रबार समेत मर्मत गरिने बताए । ‘खर्च भन्दा पनि स्थानीय र यात्रुलाई सास्ती भयो‘ केसीले भने । बसपार्क देखी पर्वत बेनी जोड्ने पक्कीपुलसम्म घाम लाग्दा समेत सडकमै पानी जमेर पशुचौपाया आहाल बस्ने जस्तै ‘मिनी पोखरी’ मा परिणत हुने गरेको छ ।

पक्कीपुल देखी ट्राफिक प्रहरीको चेकपोष्टसम्म पानी परेको बेलामा मात्रै नभई बाह्ै महिना गाडी गुड्दा समेत सडकको पोखरीमा आसपासका घरका छाँया देखिने भन्दै स्थानीयले नगरपालिकालाई पटकपटक मर्मतमा ध्यान दिन सचेत बनाएका थिए । कालिपुलमै पुसको ३० गते माघेसंक्रान्ति मेलाको आयोजना गरिएको छ । यता बेनी नगरपालिकाले चार करोड बजेट विनियोजन भएपनि प्रदेश र केन्द्र सरकार बीच बजेट कार्यान्वयनमा देखिएको मतभेदका कारण अलपत्र परेको बताउँदै मर्मत प्राथमिकतामा रहेको जनाएको छ । विगतमा विनियोजित बजेट केन्द्र र प्रदेश सरकारको कार्यान्वयनमा देखिएको अलमलका कारण फिर्ता भएको थियो ।