घलेम्दी हाइड्रो लिमिटेडको आइपीओमा १४ करोड ३० लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेस हेड पवन रेग्मीका अनुसार दोस्रो दिन शुक्रबार अपरान्ह ३ बजेसम्ममा १९ हजार ३५ जनाले १४ लाख ३० हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् । अहिलेसम्मको तथ्यांकलाई आधार मान्दा घलेम्दीको आइपीओमा तोकिएको समयभित्रै माग भन्दा बढी आवेदन पर्ने देखिन्छ । यो आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा माघ १८ गतेसम्म भर्न पाउने व्यवस्था छ ।
कम्पनीले बिहीबार (पुस १९ गते) देखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसमा सी–आस्वा प्रणालीबाट आवेदन दिन सकिन्छ । न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था छ । घलेम्दीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले कमजोर आधार जनाउने ‘ग्रेड ५’ रेटिङ दिएको छ । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । जसमा संस्थापकको ३८ करोड ५० लाख (७०%) लगानी रहेको छ । यसमा स्थानीय बासिन्दा र सर्वसाधारणको गरी १६ करोड ५० लाख (३०%) रुपैयाँ लगानी रहनेछ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६।७७ मा ८५ रुपैयाँ ९० पैसा र आव २०७७।७८ मा ९६ रुपैयाँ ५२ पैसा हुने प्रक्षेपण छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७७।७८ मा ६ रुपैयाँ ७४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ बाट लाभांश दिने सकिने जनाएको छ ।
घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । आयोजनाले ८ वर्षमा कर्जा चुक्ता गर्ने जनाएको छ ।यो आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । २०७१ देखि सुरु भएको यस आयोजनाले ९०% बढी पूर्वाधार निर्माणको काम सकेको जनाएको छ । यसले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ । www.nepalipaisa.com