बेनीबजारको प्रमुख प्रशासनीक क्षेत्र विरेन्द्रचोकको सरसफाईमा हरेक दिन विहानै सरसफाईमा निस्कन्छन् दलप्रसाद श्रेष्ठ ।टोलका हरेक घरमा सुचना पु¥याउने, हरेक दिन टोलको सरसफाईको अगुवाई नै श्रेष्ठले गर्छन् । विरामी अवस्थामा घरमा आराम गर्नुपर्ने समयमा औषधी खाएर हातमा कुचो लिएर सडकमा फोहोर उठाउँछन् ।

सरसफाई देखि निशुल्क खानेपानी, पुष्प बाटिका, बराहपाखो सामुदायिक बनमा लगाइएको बृक्षारोपण लगाएत करिव दर्जनको हाराहारीमा रहेका टोलभित्रका गतिविधिमा हरेक दिन सहभागिता जनाउँछन्।घरभित्रका आफ्ना गतिविधिभन्दा सयौं गुणा उनले टोलका अभियानमा विताउँछन् ।बेनीबजारमा धेरै ब्यस्त हुने टोलमा उनले निशुल्क शुद्ध खानेपानीको सुविधा सहित धुलोधुवामुक्त बनाउने प्रयासले यात्रुलाई समेत सहज भएको छ ।

सयौंबर्ष पुरानो पिपलको रुखमा विश्राम लिने यात्रुले उनको सक्रियतालाई खुलेर प्रशंसा गर्छन् । २०७२ साल असार १३ गते गठन भएको टोल सुधार समितिको गठन भएपछि श्रेष्ठले पहिलो काम घरघरमा फोहोर मलाई भन्ने डस्विन वितरण गरेपछि अभियानको सु्रुवात भयो। टोलभित्र लोडसेडिङमा अध्यारो हुदाँ डिउटीमा बस्ने सुरक्षाकर्मीलाई समस्या भएपछि त्यसलाई मध्यनजर गरी १० वटा सोलार बल्व जडान गरियो ।चोकभित्र पार्किङ क्षेत्र, पिपलबोटमा जोखिम हाँगा कटान, ढलान, द्धन्द्धकालिन समयमा बन्द भएको बहुउदेश्यीय मैदान जोड्ने बाटो नियमित सुचारु तथा फुलको बगैचा ब्यवस्थापन लगाएत दर्जनौ काम भएका छन् ।

उनी टोल सुधार समितिका अध्यक्ष पनि हुन् । टोल सुधार समितिका जिल्लामै नमुना र सकारात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेका श्रेष्ठले आफ्नो घरायसी कामलाई समेत छोडेर टोलको अभियानमा समय खर्चने गरेका छन् सदरमुकाम बेनीको प्रशासनिक केन्द्र समेत रहेको विरेन्द्रचोकमा जिल्लामै नमुना टोल सुधार समितिको रुपमा देखिएको छ। ‘मैले घरलाईभन्दा समाजलाई समय दिएको छु,‘विरामी हुदाँ धेरैपल्ट औषधी हातमै समाएर टोलको काममा जुट्छु’ श्रेष्ठले भने ।

उनले टोलभित्रका गतिविधिमा टोलबासीको सहयोगले आफूँले काम गर्न सहज भएको बताए । शनिबार सहयोगदातालाई सम्मान कार्यक्रममा उनले आफ्नो कार्यकालमा गरिएका दर्जनौ कार्यहरु प्रस्तुत गदैं अझै धेरै काम गर्ने योजना रहेको बताए। ‘केहीले अल्छी गर्छन्, मैले बोल्दा रिसाउँछन, तर बोलाउन छोड्दैन’ श्रेष्ठले भने । उनले नेपालकै नमुना टोल भएको घोषित भएकै दिन आफुँले जिम्मेबारीबाट बाहिरिने बताए ।

सार्वजनिक ठाउँमा खानेपानी, भाडामा बस्नेलाई स्वागत तथा विदाई, टोलबासीको जन्मदिन मनाउने, सरसफाईमा सक्रियलाई पुरस्कार जस्ता थप नयाँ योजना रहेको बताए । उनको नेतृत्वमा टोल एकजुट भएर सन्देशमु्लक अभियानमा जुटेका टोलबासीले समेत कहिलेकाही रिसाउँदा समेत कुनै दुख नलाग्ने बताउँछन् । ‘उहाँ काम गर्दा कराउँनुहुन्छ, टोल बनाउन जुट्नुहुन्छ’ टोल समितिकी सृजना भट्टचनले भनिन् ।

उनले टोलबासीकै प्यारो मान्छेको रुपमा रहेको बताउँदै टोलका गतिविधिमा संलग्न नभएकालाई बेलुकी फोन गरेर सचेत बनाउने गरेको बताईन् ।बजार भित्र ब्यक्तिगत कामलाई प्राथमिकता दिने प्रबृत्ती मौलाइरहेको बेलामा श्रेष्ठको कार्यले टोल सुधार समितिको जिम्मेबारीलाई प्रष्टाएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । ‘सुन्दर टोल बनाउने अभियानमा भइरहेको छ,‘बजार भित्रका अन्य टोलबासीले पनि सिक्न सक्छन’ श्रेष्ठले भने ।

उनका अनुसार टोल सुधार समितिसंग सहकार्य गरी सरसफाई सहित विभिन्न अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।टोलमा हुने सरसफाई सहितका अभियानलाई अन्य टोलबासीले समेत सिक्नुपर्ने उनको भनाई छ । बेनी नगरपालिकाले टोल सुधार समितिलाई ५० हजार बजेट विनियोजन सहित हरेक अभियानमा सहयोग समेत गर्ने गरेको छ । हाल टोलको खातामा करिव ३ लाख बचत रहेको छ । नगरपालिकाले नमुना टोलको रुपमा सम्मान समेत गरिसकेको छ ।