‘अव तातोपानी कुण्डमा रिजर्भ गरेर स्नान गर्न पाईने’

0
578

बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक उपचार केन्द्र तातोपानीमा नीजि क्षेत्रको लगानीको बहस चलिरहेको अवस्थामा अवस्थामा विरामीलाई लक्षित गरी धमाधम पूर्वाधार विस्तार गरिएको छ । अत्याधिक विरामीको चाप संगै कुण्डमा स्थान गर्न आउने विरामी, पर्यटक र भिआईपीलाई लक्षित गरी पूर्वाधार विस्तार गरिएको हो । कुण्ड बाहिर नुहाउने धारा नजिक ‘मिनी कुण्ड’ र मुख्य कुण्डभित्र भिआइपीलाई लक्षित गरी बाथ टवको निर्माणकार्य अन्तिम चरणमा पुगेको कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।

‘दुवै नयाँ सेवाले विरामीको चाप बढ्नेछ,’‘आवश्यकता अनुसार अन्य सेवासुविधालाई समेत विस्तार गर्नेछौ’ केसीले बेनीअनलाइनलाई भने ।उनका नयाँ कुण्डमा रिजर्भ गरेर समेत स्नान गर्न सकिने बताए । उनका अनुसार मुख्य कुण्डको तालिका बाहिर पनि बेलुकीसम्म स्नान गर्न मिल्ने गरी कुण्ड बनाइएको बताए ।करिव २५ जनासम्म स्नान गर्न मिल्ने गरी बनाइएकाले रिजर्भको शुल्क तथा समय समेत ब्यवस्थापन समितिले तोक्ने बताए। बाथ टबमा प्रति घण्टा २ सय रुपैयाँ तोकिएको छ ।

उक्त सेवाले विदेशी पर्यटकलाई समेत आर्कषित गर्ने ब्यवस्थापन समितिको भनाई छ । ‘यसबर्ष अत्याधिक विरामी आएका छन्,‘गतबर्षको दोब्बर विरामी आउने अनुमान गरिएको छ’ ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भने । उनका अनुसार कुण्डको पानीलाई सदुपयोग गर्ने गरी नयाँ संरचना थपिएको बताए । विदेशी तथा आर्थिक हैसियत बलियो भएका विरामीले मुख्य कुण्ड बाहेक स्नान गर्ने चाहना ब्यक्त गर्न थालेपछि आम्दानीलाई समेत मध्यनजर गरी नयाँ संरचना थपिएको बताए ।

उनका अनुसार केही देशबाट नियमित विदेशी समेत आउन थालेका छन् । एकैपटक स्वदेशी विरामीले चाप हुन थालेपछि विदेशीलाई स्नानमा समस्या भएको अवस्थालाई समेत नयाँ सुविधाले सहज हुने बताए । दुवै सुविधा माघ महिनाभित्र प्रयोगमा ल्याईने छ । कुनै समय भैंसी आहाल बस्ने ताल जस्तै कुण्ड वि.स २०४२ सालमा फेला परेको तातोपानीको मुहानलाई स्थानीयले गरेको संरक्षण तथा प्रचारप्रसारकै कारण बर्षेनी २० हजारभन्दा धेरैले स्नान गर्ने गरेका छन् ।

कुण्डमा स्नान गरेपछि शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाईते, ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोगको निको हुन्छ । दैनिक खानामा रुची नहुनेले समेत कुण्डलाई रोज्ने गरेका छन् ।वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

कुण्डको पानीको वीरेनून नजिकै रहेको बेनी–दरवाङ सडकसम्म गन्ध आउँछ। बिरेनुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा कृतिम घरेलु उपचारको तुलनामा सहज र सुबिधायुक्त तरिकाले घण्टौ सम्म स्नान गर्न सकिन्छ । एक दिनमा दुई पटक डेढ÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कीएर २० मिनेटसम्म बलाङंकेट, पलाष्ट्रिक काम्लो आदी न्याना कपडा ओढेर शरिरबाट खलखल पसिना निकाल्ने गरिएको छ । कुण्डको आम्दानीले स्थानीय सरस्वती माविका शिक्षक सहित विभिन्न सामाजि कार्यमा खर्च हुने गरेको छ ।