घलेम्दी हाइड्रो लिमिटेडको आइपीओमा २८ करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेस हेड पवन रेग्मीका अनुसार अपरान्ह ४.४५ बजेसम्ममा ३६ हजार ६३३ जनाले २८ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा १.७० गुण धेरै आवेदन हो ।

माग भन्दा धेरै आवेदन परेपछि यो आइपीओमा सोमबार (पुस २३ गते) सम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले पुस १९ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।यसमा सी–आस्वा प्रणालीबाट आवेदन दिन सकिन्छ ।

न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था छ । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ। घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । कम्पनीले आर्थिक बर्ष २०७७।७८ बाट लाभांश दिने सकिने जनाएको छ  । कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६।७७ मा ८५ रुपैयाँ ९० पैसा र आव २०७७।७८ मा ९६ रुपैयाँ ५२ पैसा हुने प्रक्षेपण छ ।
यस्तै, प्रतिसेयर आम्दानी आव २०७७।७८ मा ६ रुपैयाँ ७४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ५५ करोड रुपैयाँ जारी पुँजी रहेको आयोजनामा संस्थापकको ३८ करोड ५० लाख (७०%) लगानी रहेको छ । यसमा स्थानीय बासिन्दा र सर्वसाधारणको गरी १६ करोड ५० लाख (३०%) रुपैयाँ लगानी रहनेछ । ५ मेगावाटको यो आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ ।

९०% बढी पूर्वाधार निर्माणको काम सकेको यस आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ । २०७१ देखि सुरु भएको यस आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षमा कर्जा चुक्ता गर्ने जनाएको छ । copyrigh: www.nepalipaisa.com

विज्ञापन