उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाले जारी गरेको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । आगामी बैशाख महिनामा पाँच परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अन्तिम चरणमा रहेको अवस्थामा जारी गरिएको आइपीओमा आइतबारसम्म २८ करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ३६ हजार ६३३ जनाले २८ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा १।७० गुण धेरै आवेदन हो ।

कम्पनीले पुस १९ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । न्यूनतम ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था छ । यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ। घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । कम्पनीले आर्थिक बर्ष २०७७।७८ बाट लाभांश दिने सकिने जनाएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६।७७ मा ८५ रुपैयाँ ९० पैसा र आव २०७७।७८ मा ९६ रुपैयाँ ५२ पैसा हुने प्रक्षेपण छ ।यस्तै, प्रतिसेयर आम्दानी आव २०७७।७८ मा ६ रुपैयाँ ७४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ५५ करोड रुपैयाँ जारी पुँजी रहेको आयोजनामा संस्थापकको ३८ करोड ५० लाख ९७०५० लगानी रहेको छ ।

यसमा स्थानीय बासिन्दा र सर्वसाधारणको गरी १६ करोड ५० लाख ९३०५० रुपैयाँ लगानी रहनेछ । प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षमा कर्जा चुक्ता गर्ने जनाएको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।