बेनीबजार आसपासका बस्तीहरू लागुपर्दाथ प्रयोकर्ताको अखडा बन्न सक्ने भन्दै प्रहरीले स्थानीय समुदायलाई सचेत हुन अनुरोध गरेको छ । सोमबार बेनी नगरपालिका –२ बगरफाँटमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा यूवापुस्ता कुलतमा फस्दै गएको अवस्थामा बजार क्षेत्रमा प्रहरीको निगरानीले आसपासका सामुदायिक बन तथा बस्तीमा प्रयोगकर्ता आउन सक्ने भएकाले पनि स्थानीय समुदायले विभिन्न जनचेतनामुलक कार्यक्रम सहितका अभियानमा चासो देखाउनुपर्ने बताइएको थियो।

बगरफाँट आमा समुहको सभाहलमा आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढा मगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनको हालको अवस्था, जिल्लाका गाँजाको खेती कै रुपमा भइरहेको विस्तार लगाएतका विषयमा जानकारी गराएका थिए । उनले प्रहरी हिरासतमा १० जना लागु औषध मुद्धा अन्तरगत मुद्धा चलिरहेको अवस्थामा रहेको बताउँदै प्रयोगकर्तालाई निरुत्साहित गर्न समुदायको सहयोग आवश्यकता रहेको बताए । नागरिक सुनुवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भूकम्पबाट घर क्षती भएकालाई राहत वितरणमा वडा कार्यालयको वेवास्ता गरेको गुनासो आएको बताएका थिए ।

उनले नगरपालिकाले सुकुम्बासीको रुपमा बसोसबा गदैं आएकाको समस्यालाई समाधान गर्ने तर्फ ठोस कदम चाल्नुपर्ने बताएका थिए ।सोही अवसरमा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले नयाँ सडक विस्तारको नाममा बस्तीका घर जोखिममा परेको बताउदै सडक विस्तारको मापदण्डलाई कार्यान्यन गर्नुपर्ने बताए । उनले बस्तीका समस्या समाधानमा नगरपालिका सचेत रहेको बताउँदै समुदायका सक्रियताले धेरै समस्या समाधानमा सहज हुने बताए । नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना समस्या राखेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष विष्णु गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा बेनपा २ का वडा अध्यक्ष हिराबहादुर थापा, ६ का कृष्णबहादुर बानियाँ, ७ का राजेन्द्रकुमार श्रेष्ठ र ८ का रामकृष्ण बराईली, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख विष्णु पण्डित, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगाएतको उपस्थिती रहेको थियो । स्थानीयले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागि प्रहरीले गाउँ–गाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा सहभागीबाट ५ गुनासा, १ अपेक्षा र २ सुझाव प्राप्त भएको प्रहरीले जनाएको छ ।

विज्ञापन