घलेम्दी हाइड्रोको आइपीओमा ४० करोड ६४ लाख भन्दा बढीको आवेदन, माग भन्दा २.६४ गुणा धेरै

घलेम्दी हाइड्रो लिमिटेडको आइपीओमा ४० करोड ६४ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेस हेड पवन रेग्मीका अनुसार सोमबार ४.४५ बजेसम्ममा ५४ हजार ९८४ जनाले ४० लाख ६४ हजार ३० कित्ताका लागि आवेदन दिएका हुन् ।
घलेम्दीमा परेको आवेदन माग भन्दा २.६४ गुण धेरै आवेदन हो । अन्तिम विवरणमा आवेदक संख्या र रकम अझै बढ्नसक्ने रेग्मीले बताए । कम्पनीले पुस १९ गतेदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । जसमा संस्थापकको ३८ करोड ५० लाख (७०%) र स्थानीय बासिन्दा तथा सर्वसाधारणको गरी १६ करोड ५० लाख रुपैयाँ (३०%) लगानी हुनेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६।७७ मा ८५ रुपैयाँ ९० पैसा र आव २०७७।७८ मा ९६ रुपैयाँ ५२ पैसा हुने प्रक्षेपण छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७७।७८ मा ६ रुपैयाँ ७४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।
घलेम्दीले म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ९०% बढी पूर्वाधार निर्माणको काम सकेको यस आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ । आयोजनाले ८ वर्षमा कर्जा चुक्ता गर्ने जनाएको छ । २०७१ देखि सुरु भएको यस आयोजनाको कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । कम्पनीले आर्थिक वर्ष २०७७। ७८ बाट लाभांश दिने सकिने जनाएको छ  । copyright: nepalipaisa.com