बेनी नगरपालिका–२ ज्यामरुककोट फाँपरखेतका दृष्टि विहीन आइतबहादुर दर्जीको हातमा सधै एउटा लठ्ठी र हथौडा हुन्छ । दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाविहानै एउटा हातले लठ्ठी टेकेर र अर्को हातले हथौठा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरहरुको लागि गिटी कुटेर गुजासा चलाउनु उहाँको बाध्यता बनेको छ । दैनिकजसो विहानै ज्यालामजदुरी गर्न जाने दर्जी दृष्टिविहिन भएपनि परिवारमा उहाँको जिम्मेवारी भने ठूलो छ ।

आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधिन भवनका लागि गिटी कुट्ने गर्नुभएको छ ।
फाँपरखेतमा सार्वजनिक जग्गामा बसीरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाईमा करिब रु १ लाख ५० हजार आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बस्नुभएको छ भने ५० हजारमा अरुको खेत बन्धकीमा लिनुभएको छ ।

दैनिक घरखर्च चलाउनका साथै छोराको पढाई खर्च जुटाउन गिटी कुट्ने गरेको दर्जीले बताउनुभयो । दर्जीका दुई छोरा र श्रीमती छन् । जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्र्तीण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकोले वैदेशिक रोजगारीमा जाने तरखरमा छन् भने कान्छा छोराले पनि राम्रोसंग आँखा देख्दैनन् । कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन् ।

‘मैले दुवै आँखा देख्दिन्, मेरो कमाइले घरमा चुलो बल्छ’ दर्जीले भन्नुभयोे । दर्जीले आफ्नो सहारा भनेकै एउटा लठ्ठी र हथौडा भएको बताउनुभयो । साहराको रुपमा रहेको लौरोभन्दा प्यारो गिटी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ । दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रुपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।

छोराहरूलाई लत्ताकपडा, कपीकमल सहित खाजा खर्च जुटाउन समेत मुस्किल छ । ‘सकिनसकी दैनिक ३ सय जति कमाई हुन्छ । विरामी हुदाँ आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ’ दर्जीले भन्नुभयो । दर्जीले पैसाको अभावमा कहिलेकाही एकछाक खाने गरेको समेत बताउनुभयो ।‘पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान नै बनेर आउनुभयो’ अर्जुन माविको चौरमा गिटी कुट्दै गरेका दर्जीले भन्नुभयो ‘उहाँकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिहरुले मलाई सहयोग गरे र त्यसैको भरमा टिनले छाएको घरमा बस्न पाएको छु ।’

‘दर्जीको अवस्था अत्यन्त टीठलाग्दो थियो’ पत्रकार गौतमले भन्नुभयो ‘उनको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ ।’अपाङ्ताको क्षेत्रमा काम गर्ने धेरै संघसंस्था भएपनि आफ्नो घरमा सानो सहयोग समेत नगरेको दर्जीको गुनासो छ । ‘गरिवको घरमा त सहयोग गर्ने संघसंस्थाहरू पनि आउँदैनन्, कमाई गर्ने पनि सकिदैन्’ उहाँले भन्नुभयोे । श्रीमती विरामी हुने समस्याले समेत नियमित मजदुरीमा जान समस्या हुने गरेको दर्जीको भनाई छ । दर्जीले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह गर्नुभएको छ ।–––