मंगला गाउँपालिकाले तोक्यो सडक मापदण्ड

मंगला गाउँपालिकाले सडकको मापदण्ड कायम गरेको छ । बुधबार सम्पन्न चौथो गाउँसभाले बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ अन्तरगत सडकको मापदण्ड कायम गरिएको हो । गाउँपालिकाले भवन निर्माण सम्बन्धि मापदण्ड कार्यान्वयनमा ल्याइसकेपनि गाउँपालिभित्रको राष्ट्रिय तथा प्रदेशस्तरीय बर्गमा राखिएको बेनी–दरबाङ सडक बाहेक अन्य सडकमा मापदण्ड कायम गरिएको सुचना अधिकारी राजेन्द्र आचार्यले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार गाउँसभाले सडकहरूको बर्गीकरण र क्षेत्राधिकार तोकेको छ ।गाउँसभाले गाउँपालिकामा पर्ने सडकलाई चार वटा समूहमा बर्गीकरण गरेको छ । गाउँसभाले पारित गरेसंगै तोकिएको मापदण्डमा(क)बर्गमा सिम–कुहुँ–टोड्के,पुलचोक–पोक–किमचौर–देउराली, पखेर–झाँक्रीपानी र पुलचोक छिस्वाङ–हुदै खोप्टी सडकको सेटब्यापक सहित क्षेत्राधिकार १३ मिटर तोकिएको छ ।

(ख) बर्गमा राखिएको बाईबाङखोला– हिदी, सातविसे– बरंजाको वडा नं ३ र ४ जोड्ने सडक,सिमलचौर–कुहुँ–टोड्के, मुहानेखोला–पाखु र घारा– सिरकुम हुदै टिकावाङ जोड्ने सडक ११ मिटर कायम गरिएको छ । त्यस्तै (ग) बर्गमा ९ मिटर कायम गरिएको छ भने (घ) बर्गमा बावियाचौर बजारका पुरानो बाटो तथा गाउँपालिका भित्र ब्यवसायीक हिसावले प्लटिङ गरिएका जग्गा आसपासलाई कायम गरिएको छ ।

सडक मापदण्ड कार्यान्वयन संगै तोकिएको मापदण्ड अनुसार सडक आसपास घर बनाउदाँ साढे ६ मिटर छोडेर बनाउनुपर्ने गाउँपालिकाका प्राविधिक विपिन आचार्यले बताए । सडकमा तोकिएको मापदण्डलाई कायम गर्न वडा कार्यालयबाट समेत जानकारी गराईने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले मापदण्ड अनुसार सडक छेउछाउमा नक्सा पास गर्दा नयाँ नियम लागु गरिने बताए ।

उनले सडक तथा बस्तीको सुन्दरता कायम गर्न भौतिक पूर्वाधार र सडकलाई व्यवस्थित गर्नका लागि सडकको बर्गीकरण र क्षेत्राधिकार तोकीएको बताए । तोकिएको मापदण्ड वडा कार्यालयमा समेत पठाइने छ । गाउँसभाको अवसरमा अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिका भित्रका हरेक योजनाहरु मापदण्ड अनुसार नै लागु गरिने बताए । उनले सडक, भवनमा तोकिएको मापदण्डले दिर्घकालिन फाइदा हुने भएकाले पनि कार्यान्वयनमा जनस्त्रबाटै सहयोग आवश्यकता रहेको बताए ।