छाउगोठमै आमा र दुई छोराहरूको जलेर मृत्यु

बाजुरा जिल्लाको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरा र उनका दुई छोराहरूको मृत्यु भएको छ ।अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो । सोमबार राति जाडोले साह्रै सताएको थियो । मंगलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन् । जाडो भगाउन उनीहरुले आगो पनि बाले । दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन् । निसास्एिर अम्बा र उनका दुई छोराको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भएको प्रहरीले जनाएको छ ।सुरेश कक्षा ३ र रमित कक्षा एकमा पढ्थे । बुधबार बिहान घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।सासुले बिहान पाँच बजेतिर तीनै जनालाई मृत फेला पारेकी थिइन् । अम्बाका पति काशी बोहोरा भारतमा रोजगारी गर्छन् ।

घरमा सासु बिसु बोहरा र ससुरा कर्ण बोहरा बस्ने गरेको वडा अध्यक्ष खड्क बोहोराले बताए। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।मृतकको पोस्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम मार्तडी बाट ५ घण्टाको पैदल दूरीमा छ ।