सिम-टोड्के सडक ६ मिटर फराकिलो पारिदैं, सडकको डिपिआर तयार गरिने

मंगला गाउँपालिकाले सडकको मापदण्ड कायम गरेको भोलीपल्टै मापदण्ड अनुसार सडक स्तरउन्नतीको कार्य सुरु गरेको छ । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ लागु गरेको गाउँपालिकाले सोही मापदण्ड अनुसार पर्यटकीयस्थल टोड्के जोड्ने सिम–कुहुँ–टोड्के सडकखण्डको स्तरउन्नती सुरु गरेको हो ।

गाउँपालिकाको केन्द्र बावियाचौरबाट वडा नं १ कुहुँका विभिन्न बस्तीलाई जोड्ने सडकको गाउँपालिका उपाध्यक्ष सृजना केसीको डोजर चलाएर स्तरउन्नतीकार्य सुरु गरेकी थिईन् ।५० लाखको लागतमा ६ मिटर फराकिलो पारिने सडकले दुवै वडाका बस्तीमा आवतजावतका साथै पर्यटकीयस्थल टोड्के, धार्मिकस्थल मालिका मन्दिरको दर्शनका लागी जाने पर्यटकलाई सहज हुने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष एकजित रोकाले बताए ।

सिम,खुम्ल्या पैयूपाँटा, कुहुँ, पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकलाई गाउँपालिकाले महत्वपूर्ण सडकमा राखेकाले नमुना सडक बनाउने बताए । सडकस्थलको अनुगमनको क्रममा गाउँपालिका उपाध्यक्ष केसीले गाउँपालिकाबाट विनियोजित बजेटबाट १५ लाखको अधेरी खोला र ३५ लाखले सिमबाट स्तरउन्नती सुरू गरिने बताईन् । गाउँपालिकाले तोकेको मापदण्ड अनुसार बस्तीलाई असर नगर्ने गरी सडक विस्तार गर्न लागिएको बताउँदै गाउँपालिका भित्रका सबै सडकलाई जोखिममुक्त बनाउने गरी स्तरउन्नतीलाई प्राथमिकता दिने बताईन् ।

गाउँपालिकाको केन्द्रबाट हरेक वडामा सडक विस्तारलाई प्राथमिकता दिएको बताउँदै उपाध्यक्ष केसीले नयाँ ट्याकसंंगै पुराना सडकलाई समेत मर्मत गरिने बताईन् । बेनी–दरबाङ सडकखण्डबाट जोडिने उक्त सडक विगतमा जिल्लाकै ग्रामिण सडकमध्ये नमुनामा पर्ने गरेको थियो । केहीबर्ष यता सडकखण्डको केही भागमा पहिरोले जोखिममा परेपछि स्थानीयले वडाको बजेटबाट समेत मर्मत गरेका थिए। गाउँपालिकाले उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रदेश र केन्द्र सरकारबाट समेत बजेट माग गर्ने जनाएको छ ।