• सुशीलबाबु थकाली

 हिमालीपारिको जिल्ला मुस्ताङमा मङ्गलबार रातिदेखि हिमपात भएको छ । लामो समयदेखि मुस्ताङमा पर्याप्त मात्रामा हिमपात भएको थिएन । यस वर्ष मंसीरको सुरुवातदेखि नै अत्यधिक चिसो बढेका कारण पनि राम्रैसँग हिमपात भएको हो ।बिगत ४/५ वर्षयता मुस्ताङमा आवश्यकता अनुसार हिउँ नपरेपछि कृषकहरु निराश भएका थिए । तर यसवाली भने मज्जाले हिमपात भएपछि कृषकहरु औधी रमाएका छन् । मुस्ताङमा यस वर्ष अत्यधिक झरी परेकोले पनि चिसो सँगै हिमपात भएको हो ।

गत आइतबार राति पनि मु्स्ताङमा हिमपात भएको थियो । हिमपात भएसँगै मुस्ताङका कृषकहरुमा खुसीयाली थपिएको छ । यतिबेला बर्षे बाली स्याहारेर हिउँदे बाली लगाउने तरखरमा रहेका कृषकहरुमा थप हौसला बढेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका लगायत लोमान्थाङ गाउँपालिकासम्म हिमपातको असर देखा परेको कृषकहरुले बताएका छन् । आंशिक रुपमा हिमपात भए पनि यतिबेला हिउँदमा लगाउने बालीहरुलाई फाइदा पुग्ने थासाङ गाउँपालिका– २ सौरुका कृषक कृष्णकुमार थकालीले बताए ।

उनका अनुसार विगत लामो समयदेखि मुस्ताङमा हिमपात भएको नै थिएन, यसपटक जाडो सिजन सुरु भए लगत्तै हिमपात भएको छ । यसरी हिमपात भएमा खेतीपातीलगायत स्याउका बोटहरुलाई समेत फाइदा पुग्नेछ ।

हिमपात हुन जरुरी

यस वर्ष बर्खामा अत्यधिक रुपमा झरी परेपछि लगाइएका बालीहरुले पनि भनेजस्तो आम्दानी दिन सकेका थिएनन् । हिउँदे बालीको आशमा रहेको मुस्ताङका कृषकहरुलाई अब भने केही आशा पलाएको छ । यसरी हिमपातको श्रृङखला लगातार भएमा कृषकहरु अझ बढी खुसी हुने अनुमान गर्न सकिने थकालीले बताए ।

यसैगरी घरपझोङ गाउँपालिका–१ मुस्ताङका कृषक मना पुनले पनि अझै थप हिमपात हुन जरुरी रहेको बताए । ‘बिगत लामो समयदेखि सिँचाइको भरमा रहेका कृषकहरु कहिले हिउँ पर्छ र खेतीबालीमा टेवा पुग्छ भनेर बसेका थियौं,’ उनले भने, ‘विगतका वर्षहरुमा पर्ने हिउँ र अहिले पर्ने हिउँमा धेरै नै फरक रहेको छ ।’

यद्यपि हिउँ पर्नु नै सबैभन्दा ठूलो कुरा रहेको पुनले बताए । छैरो छहराबाट आउने पानीले मात्र सिँचाइ सम्भव नहुने भएकोले गर्दा अझ बढी हिमपात हुन जरुरी रहेको उनले बताए ।

वर्षा याममा आएको अविरल बर्षाका कारण छैरो गाउँको करिब ४ सय मिटर बराबरको कुलो बगाएपछि अहिले कृषकहरु पानी कहिले आउछ र खेतबारी हालौंला भनेर बसेका थिए । अब भने हिमपात सँगै सिचाइको लागि गाउँपालिका मार्फत २ सय मिटर बराबरको पाइप वितरण भैसकेको छ । सिचाइको लागि भनेर गाउँपालिकाले बितरण गरेको सिँचाइ पाइपले अहिले छैरो गाउँका स्थानीयहरुलाइ राहत भएको छ उनले बताए ।

घरपझोङ गाउँपालिकाका –१ क वडा सदस्य तथा पूर्व गाउँ मुखिया आसबहादुर थकालीले पनि सिचाइँको लागि आएको पाइपले गर्दा आफूहरुलाइ राहत भएको बताएका छन् । ४ महिनासम्म गाउँमा सिँचाइ शून्य भएपछि कृषकहरु आत्तिएका थिए ।

हिउँ नपर्दा लाग्दैन बाली

हिमपात भएसँगै मुस्ताङका कृषकहरुले हिउँदे बाली लगाउने गर्दछन् । उवा, जौ र आलु लगाउँने यो नै उत्तम समय हो ।

तर बर्खामासमा आएको कालीगण्डकी नदीको कटानका कारण छैरो गाउँको २५ घर धुरी सिँचाइ बिहीन भएको थियो । त्यसैले यस वर्ष करिब १२ घर धुरीले हिउँदे बाली लागाउन बाट वञ्चित भएकाे थकालीले बताए । हिमपात नहुँदा गाउँपालिकामार्फत वितरण गरीएको आलुको बिउँहरु अझैसम्म लगाउन नपाएको उनले सुनाए ।

कागबेनीदेखि लोमान्थाङसम्म

यसैगरी उपल्लो मुस्ताङ अन्तरगत कागबेनीदेखि लोमान्थाङसम्म हिमपात देखिएको छ । जसका कारण खहरेखोला तालतलैया र कालीगण्डकी नदी आसपासमा हिउँ जम्न सुरु भएको छ । यस वर्ष अत्यधिक चिसो बढेसँगै मुस्ताङीहरु बेसी झरिसकेका छन् भने गाउँबस्ती प्राय: शून्य भैसकेका छन् ।

यसरी जाडो बढ्ने हो भने यो सिजनको अन्तिम सातादेखि प्राय: बस्तीहरु नै सुनसान हुने निश्चित रहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) का जोमसोम स्थित संरक्षण अधिकृत तुलसी दहालले बताए । साथै मुस्ताङको चर्चित ढुम्बा ताल, सेकुङ ताल, भुछर ताल र टिटि ताल पनि जम्न सुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को एरिया आसपासमा पनि पानी जम्ने गरेको उनले बताए । साथै चिसो बढेसँगै संरक्षण क्षेत्रभित्र रहेको चोरी सिकारीको काम पनि बढ्ने भएकोले यसमा पनि सचेतना अभियान नै थालेको उनले बताए । लामो समयपछि मुस्ताङमा हिमपात भएपछि कृषक लगायत आगन्तुक पाहुनाहरु अत्यन्तै खुसी भएको उनले बताए ।

थासाङ गाउँपालिकाको सेरोफेरोमा अलि बढी हिमपात भए पनि जोमसोम सदरमुकाम आसपासमा खासै असर नदेखिएको मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताए । यद्यपि चिसोका कारण मुस्ताङबासी घरभित्रै बसिरहेको उनले जानकारी दिए । ‘जाडो अत्यधिक छ, जाडोकै कारण बस्तिहरु सुनसान देखिन्छन्,’ उनले भने, ‘कोही चिसो छल्न पोखरा लगायतका शहरहरुमा गैसके भने भएका स्थानीयहरु पनि घरभित्रै आगो तापेर बस्ने गरेका छन् ।’

चिसोका कारण मुस्ताङमा अझैसम्म त्यस्तो कुनै अप्रिय घटना घटेको छैन । ‘अप्रिय घटना नघटोस् भनेर हामीेले पलपलमा सुरक्षाको प्रत्याभूति दिलाउने जमर्को गरीरहेका छौं,’ नायव उपरिक्षक खड्काले भने ।

चिसाेमा अाउँदैनन् पर्यटक

हिमपातसँगै चिसाे बढ्दा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा भने कमी देखिएको छ । चिसोका कारण आजभोलि पर्यटकहरुको आगमनमा निकै कमी अाएकाे प्रहरी नायव उपरिक्षक खड्काले बताए ।

आंशिक रुपमा फाट्टफुट्ट आउने गरेका पर्यटकहरुले पनि आफ्नो सुरक्षा आफैँ गरेर आउने भएकोले खासै समस्या नदेखिएको उनकाे भनाइ छ ।

पर्यटकीय क्षेत्र मुक्तिनाथ दर्शन गरेर ढुम्बा ताल हेर्नेहरु याे चिसाे माैसममा पनि अाउने गरेका छन् । यसले मुस्ताङको पर्यटनको मोह भने कहिल्यै नसकिने उनको धारणा रहेको छ । यद्यपी ढुम्बा लगायतका तालहरुमा बरफ जम्ने कारणले फोटो सेसन लागायतका कामहरु बरफमाथि नै गएर हुने हुँदा पर्यटकहरुलाई पूर्वसावधानी अपनाउन समेत नायव उपरिक्षक खड्काले सुझाएका छन् ।