शिक्षा र पर्यटन प्रर्वधनका लागि दाना मेला सुरू (फोटो फिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शैक्षिक, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले शुक्रबादेखि दाना मेला सुरू भएको छ । शिक्षा विकास कोषको मुल आयोजन तथा वडा कार्यालय र ज्ञानप्रकाश माविको आयोजनामा सुरू भएको मेलाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर केसी र फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष बल पूर्जाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

‘खेलकुद र पर्यटनको विकास गरौं, स्थानीय कला र संस्कृतिको प्रबर्धन गरौ, दाना जाऔं, सुन्तला खाऔ’ भन्ने मुल नाराका साथ आयोजित मेलाको उद्घाटन कार्यक्रममा प्रवासमा रहेर पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युके र शिक्षा विकास कोषको सहयोगले सहज भएको बताउँदै भविस्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

मेलाका अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल,सर्वोदय मावि श्रोतब्यक्ति जयराम सुबेदी, दाना स्थायी घरभई विभिन्न देशका प्रतिनिधि,नारच्याङ आधारभुत विद्यालयका प्रअ सुक बहादुर गर्बुजा, ज्ञानप्रकाश माविका प्रअ शान्त बहादुर नेपाली, पोखरामा रहेका संघसंस्थाको प्रतिनिधिको तर्फबाट ओम बहादुर पुन लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थती रहेको थियो । मेलाको अवसरमा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दल बहादुर थापाले सामुदायिक विद्यालयमा सरकारी बजेटको तुलनामा स्थानीय तथा विभिन्न संघसंस्थाको सहयोगले समेत शैक्षिक गतिविधिमा सहयोग पुगेको बताए ।

उनले समुदायको सक्रियतामा भौतिक तथा अन्य संरचना बनेका विद्यालयको शैक्षिक गतिविधिमा समेत अभिभावकको सक्रियता रहेको बताए । सोही अवसरमा र फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष पूर्जाले विश्वका विभिन्न देशमा पुगेर पनि दानाबासीले आफ्नो गाउँमा रहेको सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गरेको बताए । उनले आफ्नो जन्मभूमिमा गरेको सहयोगले शीर उच्च हुने गरेको बताए ।

उनले प्रवासमा रहेका दानाबासीको सहकार्यले लक्ष्य अनुसार अगाडी बढ्न सहज भएको बताए । सोही अवसरमा शिक्षा विकास कोषका अध्यक्ष मान गर्बुजाले कोष सहित गाउँपालिकाभित्र रहेका कला र संस्कृतिको संरक्षण गर्न मेलाको आयोजना गरिएको बताए । कोषको पहलमा केही महिना अगाडी ९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरले दिवंगत श्रीमान जोहोनको स्मृतिमा पहार ट्रस नेपालमार्फत् विद्यालयमा भवनको उद्घाटन गरेको बताए ।

उनले कोषमा एक करोड भन्दा धेरै आर्थिक रहेको बताउँदै समुदायसंग सहकार्य गरी अगाडी बढ्ने बताए । मेलाका प्रमुख अतिथि जिसस प्रमुख केसीले प्रवासमा रहेका म्याग्देलीले जिल्लाको शिक्षा क्षेत्रमा ठुलो सहयोग गरेको बताए । उनले शिक्षाको क्षेत्रमा समुदायको लगानीले सहज भएको बताउँदै सरकारी बजेट मात्रै ताक्ने प्रबृत्तिको अन्त्य भएको बताए । मेलाको अध्यक्षा वडा अध्यक्ष नरसिंह बहादुर पुन, स्वागत रुप्से यूवा क्लवका सचिव बाबुराम पौडेलले गरेका थिए । मेलाको उद्घाटनको अवसरमा अन्नपूर्णका साथै पोखराबाट आएको पुख्यौली समुहले आफ्नो प्रस्तुती गरेका थिए । आगामी माघ १ गतेसम्म सञ्चालन हुने मेलामा भलिबल, तारा खेल, लाईभ दोहोरी लगाएत स्थानीय विविध खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन् ।