१०० विद्यालयले बेनी सामुदायिकको भ्रमण गरे

२०७१ सालमा पोखराको बाल मन्दिर माविले पहिलो भ्रमण गरेको बेनी सामुदायिकमा शनिबार गुल्मी जिल्लाको शिद्ध बाबा माविले भ्रमण गरेसंगै भ्रमणमा आउनेको संख्या १ सय पुगेको छ । लोभलाग्दो शैक्षिक प्रगतिका कारण हरेक बर्ष नीजी विद्यालय समेत छोडेर ठेलमठेल विद्यार्थीको रोजाईमा परेको विद्यालयमा देशभरबाट धमाधम विद्यार्थी भ्रमणमा आउन थालेका छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित भएपछि विद्यालयको लोभलाग्दो शैक्षिक प्रगतिको सिको गर्न तराईका जिल्लाबाट समेत आउन थालेको विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताए । ‘केहीबर्षमै भ्रमण गर्ने विद्यालयको संख्या १ सय पुगेको छ,‘हामीले विद्यालयमै बसेर उहाँहरुका राम्रा अभ्यास सिक्ने अवसर पाएका छौ’ श्रेष्ठले बेनीअनलाइनलाई भने ।

उनले भ्रमणमा आउने विद्यालयलाई प्रवेशद्धार देखी कक्षा कोठासम्मका गतिविधिको स्थलगत देखाउने, शिक्षक, विद्यार्थीसंग समेत छलफल सहित शैक्षिक उपलब्धीका बारेमा जानकारी गराउने गरिएको बताए । उनका अनुसार स्थानीय तहका प्रमुखको नेतृत्वमाश्रोतकेन्द्र भित्रका सबै विद्यालयका प्रअ, ब्यवस्थापन समितिका अध्यक्ष सहितको टोलीले समेत बेनी सामुदायिक जस्तै बनाउने भन्दै थप सहकार्यको प्रस्ताव समेत गर्ने गरेको बताए ।

उनले भ्रमणमा आउनेले निजी विद्यालयप्रति आर्कषित भइरहेका विद्यार्थीलाई रोक्न, नतिजा सुधार, शिक्षक बीचको सामुहिक अभ्यास, अभिभावकको सक्रियता बढाउने, कक्षा कोठा सजावत लगाएत सिकाई विधिका बारेमा जानकारी लिने गरेको बताए । विद्यार्थीको निगरानीमा सिसी क्यामेरा जडान सहित आधारभुत तह देखी माविसम्म कक्षागत अभिभावक निगरानी समितिलाई तत्कालै कार्यान्वयको प्रतिबद्धता समेत जनाएको बताए ।

सामुदायिक विद्यालयमा दैनिक छोराछोरीको कमिकमजोरी, शैक्षिक गतिविधि लगाएतका बारेमा बुझ्ने ब्यवस्थाले अभिभावकको भावनात्मक लगानी भएको भन्दै भ्रमण टोलीले कार्ययोजना बनाएर सिकेको गतिविधिलाई प्रयोग गर्ने बताएको प्रअ श्रेष्ठको भनाई छ। भ्रमण टोलीलाई स्वागत कार्यक्रममा विद्यालयको शैक्षिक प्रगतिले धेरैको ध्यान तानेको बेनी नगरपालिका शिक्षा शाखा प्रमुख विश्वप्रकाश रेग्मीले बताए ।‘शिक्षकको सहकार्य राम्रो पक्ष हो,‘आधारभुत तहदेखी एसईईसम्म निजीलाई उछिनेको छ’ रेग्मीले भने ।

शिक्षकहरुके लगाव र अभिभावकको जिम्मेबारी,ब्यवस्थापन समितिको अनावश्यक हस्तक्षेप नहुनुले पनि विद्यालयले हरेक बर्ष माध्यामिक तहको परिक्षामा सतप्रतिशत उत्र्तिणा गर्न सफल भएको सरोकारवाला निकायका प्रतिनिधिको भनाई थियो । सोही अवसरमा सिद्धबाबा माविका प्रअ दोरविक्रम श्रीषलेविद्यालयमा भौतिक पूर्वाधार, प्रयाप्त दरबन्दी, ब्यवहारिक तथा नतिजा केन्द्रित शिक्षण विधिलाई राम्रो लागेको बताए ।

उनले जागिरे मानसिकताबाट मुक्त शिक्षककर्मचारी सबैभन्दा सुन्दर पक्ष भएको बताउँदै अभिभावकको दैनिक निगरानीले समेत विद्यार्थीमा पढाईप्रति रुची बढेको बताउँदै अभिभावकको निगरानी बढाउने गरी काम गर्ने बताएका थिए । राम्रा सामुदायिक विद्यालयको प्रगतिबाट अन्यलाई सिक्ने अवसर रहेको बताउँदै अतिरिक्त क्रियाकलापमा समेत विद्यालय अगाडी रहेको देखिएको भ्रमण टोलीको भनाई छ ।