म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आयोजित ताराखेल (आर्चरी) प्रतियोगिताका उपाधी पोखराको थिमली आर्चरीले जितेको छ । शैक्षिक, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले शिक्षा विकास कोषको मुल आयोजन तथा वडा कार्यालय र ज्ञानप्रकाश माविको आयोजनामा सञ्चालित मेलामा भुरुङ तातोपानी आर्चरी ‘क’ र ‘ख’ क्रमश द्धितिय र तृतिय भएको दाना यूवा क्लवका सचिव बाबुराम पौडेलले बताए । प्रतियोगितामा विजेताले क्रमश, ५० हजार, ३५ हजार र २५ हजार नगद, मेडल र ट्रफी प्राप्त गरेका थिए ।

जनजाति समुदायका साथै जिल्लाका ग्रामिण क्षेत्रमा क्षेत्रमा अत्यन्त लोकप्रिय मानिने तारो हान्ने खेलमा उत्कृष्ट खेलाडी दाना आर्चरीका तुलमान तिलिजा, उत्कृष्ट खोले दाना आर्चरीकै थान बहादुर थापाले प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम पुरस्कार शिक्षा विकास कोषका कोषाध्यक्ष मान गर्बुजाले प्रायोजन गरेका थिए । त्यस्तै द्धितिय पुरस्कार र उत्कृष्ट पुरस्कार गंगा पुन र तृतिय पुरस्कार र उत्कृष्ट खोलेको पुरस्कार सौजन्य नेत्र गर्बुजाले गरेको आयोजकले जनाएको छ । विजेतलाई प्रायोजक र फ्रेन्डली ब्रर्दश दाना सेरोफेरो युकेका अध्यक्ष बल पूर्जा लगाएतले वितरण गरेका थिए ।

म्याग्दी जिल्लामा प्राचिनकाल देखिनै खेलिदै आएको आर्चरीलाई धनुषवाण समेत भनिन्छ । जनजातीमा लोकप्रिय रहेको ताराखेलप्रति अन्य जातिको समेत आर्कषण बढ्दै गइरहेको छ । मगर, थकाली, छन्त्याल, गुरूङ लगाएतका आदीवासीले आफ्ना प्रमुख चाडपर्वमा ताराखेल प्रतियोगिता अनिवार्य जस्तै मानिन्छ । पछिल्लो समय पर्यटकीय स्थलको अवलोकन गर्न आउने विदेशीले यो खेललाई रुचाउने भएकाले पनि पछिल्लो समय धेरै पर्यटक घुम्ने क्षेत्रमा समेत खेल्ने गरिएको छ ।