म्याग्दीका मगर समुदायले माघेसङ्क्रान्ति पर्व मनाएका छन् । आफ्नो जातिय भेषभूषामा सजिएका युवायुवतीहरु सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसङ्क्रान्ति पर्व मनाएका हुन् ।माघेसङ्क्रान्ति पर्वको अवसर पारेर मगर संघ म्याग्दीले सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरेको थियो ।

माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रुपमा लिने गर्दछन् भने सोही अनुसार उनीहरुले मनाउँदै आएका छन् । जनजातिहरुको बाहुल्यता भएको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएका छन् । मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरुसहितको ¥यालीमा सालैजो भाकासँगै युवायुवती र बुढापाकाहरु छमछमी नाचेका थिए।

माघेसङ्क्रान्तिका अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरु गरिएको छ । मकर सङ्क्रान्तिका रुपमा चिनिदै आएको माघी पर्वको अवसरमा मगर समुदायले जातिय भेषभूषमा सजिएको सांस्कृतिक ¥यालीमा सदरमुकाम बेनीबजार परिक्रमा गरेका थिए । उनीहरुले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य समेत देखाएका थिए ।

मगर समुदायले परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी हर्षोल्लासपूर्वक माघेसंक्रान्ति पर्व मनाउँदै आएका छन् । माघेसङ्क्रान्तिलाई प्राकृतिक रुपमा वर्षे सिजन शुरु भएको पर्वको रुपमा मनाउने गरिएको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार जिल्लाका स्थानीय तहमा समेत भब्यका साथ मनाइएको छ। यसबर्ष स्थानीय तह स्तरीय समिति समेत बनाइकाले पाँचवटै गाउँपालिकामा समेत मनाउन सुरु गरिएको अध्यक्ष थजालीको भनाई छ ।माघ महिनादेखि वर्षात्को समय शुरु भएको सङ्केतका रुपमा लिने गरिएको छ । मगर समुदायले यस पर्वमा आफन्तजन एकापसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतिक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको छ ।

खेतीबाली र पशुपालन राम्रो होस्, रोगव्याधी नलागोस्, दुःखद घटना नघटुन भन्ने कामनासहित माघेसङ्क्रान्तिमा पुजा गर्ने र देवतालाई खुशी बनाउने चलन रहेको मगर संघ गण्डकी प्रदेश सचिव राजकुमार थापाले बताए । माघेसंक्रान्ति पर्वलाई विशेष महत्वका साथ प्रमुख चाडको रुपमा मनाउने गर्दछन् । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकरसङ्क्रान्ति पनि भन्ने गरिन्छ। २०६८ सालको जनगणना अनुसार एकलाख १३ हजार ६४१ जनसङ्ख्या रहेको म्याग्दीमा झण्डै ४१ प्रतिशत मगर समुदायको बसोबास रहेको छ ।