जिल्लाको सदरमुकाम बेनीमा राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा आयोजित दिवसको अवसरमा स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा जोड दिइएको थियो । दिवसको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताए ।

बेनी नगरपालिकका मेयर हरिकुमार श्रेष्ठले शरीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको बताउँदै दैनिक दुईघण्टाको योगले सक्षम मान्छे बनाउने बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाईदा हुने बताए। उनले नियमित योग अभ्यास गरेमा उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगबाट बच्न सकिने बताउँदै अस्पताल बनाउन जस्तै रोग लाग्नबाट बचाउन योग शिक्षाको महत्वका बारेमा जनचेतना फैलाउनु पनि महत्व दिनुपर्ने बताए ।

दिवसको अवसरमा नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रका प्रमुख किरणकमल बस्ताकोटी लगाएतले मन्तब्य राखेका थिए । नबीन योग आनन्द केन्द्र नेपालका अध्यक्ष नविन जुग्जालीले योगाश्रम भवन निर्माणका लागि तीन आना खरिद र तीन आना दान गरेर जग्गा जुटाएपनि भवन निर्माणमा आर्थिक अभाव भएको बताउँदै सहयोगको प्रस्ताव सहित नगरप्रमुख श्रेष्ठलाई मागपत्र बु्झाएका थिए। कार्यक्रमको पूर्वसन्ध्यामा बेनीबजारमा प्रभातफेरी गरिएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।