घरकै उद्यमबाट रहरलाग्दो कमाई

0

म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरका एक युवाले रेडियो,टिभी र मोवाइल मर्मत गर्नुका साथै मासु पसल संचालन गरेर मासिक २ लाख भन्दा बढी कमाइ गर्दै आएका छन् ।रत्नेचौरमा बिनोद एण्ड बिजय फ्रेस हाउस संचालन गर्नुका साथै रेडियो ,मोबाइल र टि भी मर्मतको काम गर्दै आएका २६ वर्षिय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक २ लाख भन्दा बढी कमाइ गर्न सफल भएका हुन् ।

विगत ६ वर्षदेखि गाउँमा नै रेडियो,टिभी,मोवाइलका साथै विद्युतीय समानहरुको मर्मत र विक्रि गर्दै आएका थापाले चार महिना अघि गत असोजदेखि सोही ठाउँबाट मासुपसल पनि संचालन गर्न थालेपछि उहाँले आफ्नै घरमा बसीबसी मासिक २ लाख रुपैयाँ आम्दानी गर्न थालेका हुन् ।

त्यसका अतिरिक्त थापाले घरमा नै कुखुरा,बाख्रा र हाँस पनि पालेका छन् । खोरमा ५ सय कुखुरा, १५ वटा बाख्रा र हाँसको रेखदेखका साथै मोवाइल,टिभी र अन्य विद्यूतीय सामानहरुको मर्मत तथा विक्रि गर्न भ्याइनभ्याइ हुने थापालाई मासु पसल सुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताए ।

घर वाइरिङ गर्नुका साथै सम्पूर्ण विद्युतीय सामानहरु मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँहरुबाट सामान मर्मत र घर वाइरिङका लागि बोलाउन थालेपछि उनको व्यवस्तता झन बढेर गएको छ ।‘हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान,कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ’ थापाले थापाले भने–‘समयानुकुल व्यापार गर्न सकियो र अल्छी गरिएन भने घरगाउँमा नै प्रशस्त पैसा कमाइन्छ ।’