आगलागी हुँदा दुईतले घर जलेर नष्ट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको फलाटेमा मंगलबार राती दुईतले घर जलेर नष्ट भएको छ । रातको समयमा चलेको हावाहुरीले स्थानीय हुमादेवी पूर्जाको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । साँझ खानपिन गरेर अगेनामा बालेको आगो ननिभाई छाडेका कारण आगो लागेको हुनसक्ने स्थानीयको भनाई उद्धित गदैं पत्रकार सुरेन गुरूङले बेनीनलाइनलाई बताए । उनका अनुसार आर्थिक अवस्था समेत कमजोर भएको पूर्जाको घरमा दुई छोरा रहेका छन् ।

आगलागी भए लगत्तै स्थानीयले नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको थिएन् । आगलागीबाट घरभित्र रहेका नगद सहित सम्पूर्ण जलेर नष्ट भएको छ । करिव १२ लाखको हाराहारीमा क्षती भएको अनुमान गरिएको छ । यसैबीच पीडितलाई गाउँपालिकाले सहयोगको प्रतिबद्धता समेत जनाएको छ । घटनास्थलमा स्थानीय जनप्रतिनिधिका साथै प्रहरीको टोली समेत पुगेको छ । आगलागी पीडितलाई सहयोगको अपिल समेत गरिएको छ ।