तीनवटा घरको झुपडीको आगनमा बालबालिका खेल्दै थिए । म्याग्दी र कालिगण्डकी नदीबाट आएको चिसो हावाले केही घरभित्र्र जाडो छेल्न घरभित्रै बसेका थिए ।घरको आगनबाट देखिने धौलागिरी हिमाल चाँदी जस्तै टल्किएको थियो । सानो भएपनि सुन्दर बस्तीमा एक्कासी जमिन हल्लिन थालेपछि कोलाहल मच्चियो ।

अचानक जमिन हल्लिएसंगै घर भत्किन थालेपछि जोगिन केही घरभित्र प्रवेश गरेभने केही खुल्लाचौरतर्फ दौडिए ।केही सेकेन्डमा धु्लोको मुस्लो उड्यो । भूकम्पमा च्यापिएका स्थानीयलाई उद्धार गर्न केहीबेरमै सुरक्षाकर्मी सहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुग्यो ।एम्बुलेन्स सहित सुरक्षाकर्मीको टोलीले घाईतेको प्राथमिक उपचारमा खटिए । कोही स्टेचर बोकेर रनवेतर्फ दौडदै थिए भने कोहीले प्राथमिक उपचारका औषधि साथै बोकेका थिए ।

विद्युत सर्ट हुदाँ घरमा सल्किएको आगोको मुश्लोले आकाशमा फैलिएको थियो ।झट्ट हेर्दा म्याग्दीको सदरमुकाम बेनीबजास्थीत खुल्लामञ्चमा ठूलै भूकम्पले छतविच्छेद भएको जस्तै देखिने दृष्य भूकम्पको नभई २१ औं भुकम्प सुरक्षा दिवसका अवसरमा गरिएको पूर्व अभ्यास थियो। दिवसमा बजारमा प्रभातफेरी सहित केही भाषण गरेर औपचारिकता निभाउने विगतका शैलीलाई तोड्दै दिवस मनाउन सुरु गरेपछि पहिलोपटक बेनीमा विपद् आउनुपूर्व अपनाउनुपर्ने सतर्कता र आइसकेपछि उद्धार गर्नका लागि समुदायस्तरमा जनचेतना जगाउनका लागि सामुदायिक स्तरमा विपद् पूर्वतयारीका लागि पूर्वअभ्यास गरिएको थियो ।

भूकम्प दिवस मुल समारोहको आयोजनामा गरिएको कार्यक्रममा विपद्मा अपनाउनुपर्ने सतर्कतालाई प्रमुख रुपमा प्रर्दशन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बेनीअनलाइनलाई बताए । ‘बेनीमा आपतकालिन उद्धारमा आवश्यक सबैको प्रयोग गरियो, दुर्घटनाको जोखिम भए कसरी रेस्क्यू गर्ने भन्ने पूर्वअभ्यास हो प्रजिअ अधिकारीले भने । उनका अनुसार भूकम्पसंगै आगलागी हुदाँ उद्धारका साथै जनधनको क्षतीलाई कम गर्ने बारेमा समेत अभ्यास गरिएको बताउँदै यसलाई आवश्यकता अनुसार जिल्लाका स्थानीय तहसमा समेत सहकार्य गरी सञ्चालन गर्न सकिने बताए ।

जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारीले विपद्को समयतालिका नहुने भएकाले पनि सधै सर्तक हुनुपर्ने बताए । पूर्वअभ्यासको क्रममा नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरीको चण्डिका गणको गलेश्वर गुल्ममा कार्यरत तालिम प्राप्त सेना तथा प्रहरीले पूर्वअभ्यास गर्दै विपद् आउनुभन्दा पूर्वतयारीका साथै विपद् आएमा उद्धार गर्ने बारेमा जानकारी गराएका थिए ।

दिवसमने पुर्वसन्ध्यामा आयोजित प्रभातफेरीमा जिसस प्रमुख देवेन्द्रबहादुर केसीले पूर्वअभ्यासले सचेत बनाउने बताए । दिवसको अवसरमा बेनी नगरपालिकका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगाएत दिवसको अवसरमा विद्यालयका विद्यार्थी, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि लगाएत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।