केहीबर्ष अगाडीसम्म खेतबारीमा लटरम्मै फलेका सुन्तलाको बजारको खोजीमै भौतारिने बेनी नगरपालिका–३ भकिम्ली मरेक गाउँका किसानले यसबर्ष गाउँबाटै २२ लाखको सुन्तला विक्री गरे । स्वादिलो सुन्तला उत्पादन हुने मरेकमा ब्यापारीले सुन्तला बोक्ने सवारीसाधन लिएर गाउँमै पुगेपछि उत्साहित कृषकले बोटबाटै सुन्तला विक्री गरेको स्थानीय कृषक इन्द्र बहादुर थापाले बेनीअनलाइनलाई बताए ।

’गतबर्षभन्दा ३० प्रतिशतले उत्पादन बढ्यो,‘हरेक बर्ष नयाँ विरुवा थपिदैंछन्’ थापाले भने ।२२ मध्ये १८ घरधुरीले ब्यवसायीक सुन्तला खेती गर्ने गरेका छन् ।यसबर्ष पदम बहादुर खत्रीले ४ लाख ५० हजार बराबरको सुन्तला विक्री गरेका छन्। खत्री गाउँमै सबैभन्दा धेरै सुन्तला विक्री गर्न कृषकमा पर्दछन् । एकल महिला जमुना थापाले ३ लाख ५० हजार, बीर बहादुर थापा, कर्ण बहादुर सुबेदी, पदम बहादुर थापा, धना थापा, कर्ण कुमारी पुर्जा, धन बहादुर पुन कर्ण बहादुर खत्री र बल बहादुर पुन लगाएतका कृषकले ब्यवसायीक सुन्तला खेती गरिरहेका छन् ।

न्यूनतम ४० हजार देखि ३ लाखसम्म कमाउने कृषकले अन्य अन्नबालीलाई समेत छोडेर सुन्तला खेती विस्तार गर्ने गरेको बताए । कुनैसमय घरायसी प्रयोजन र खेतबारीमा लगाएका सुन्तलाले अपेक्षा गरेभन्दा राम्रो फल दिएपछि सुरु भएको सुन्तला खेती गाउँको प्रमुख आम्दानीको स्रोत बनेको कृषकको भनाई छ । सुन्तलाले मंसिर देखी माघ महिनासम्म मरेक गाउँ पहेंलपुर हुन्छ ।

गाउँमा मंसिर महिनामै ब्यापारीले बुकिङ गर्ने गरेका छन्। प्रयाप्त सिँचाईको अभावले भनेजस्तो सुन्तला विस्तार गर्न सकिएको छैन,‘सुन्तला बेचेर आम्दानी बढ्दैछ’ पदम बहादुर थापाले भने । थापाले प्रयाप्त सिँचाईको सुविधा भए दोब्बर आम्दानी गर्न सकिने बताए । गाउँमै अन्तिम पटक ढुवानी हुन लागेको थापाको बारीमा ब्यापारीले सुन्तला टिप्दैछन् । उनले करिव २ लाखको सुन्तला विक्री गर्ने बताए ।

सुन्तला खेतीमा पुरुष र महिलाको प्रतिस्पर्धा जस्तै छ । महिलाले बर्षेभरी मेहनत गरेर पुरुषको तुलनामा धेरै सुन्तला फलाउन सफल भएका छन्। गाउँको सुन्तला पोखरा, चितवन र काठमाण्डौमा विक्री भएको छ । ब्यापारीले प्रतिकेजी गाउँमै ६० रुपैयाँ दिएका छन् । बेनी नगरपाालिकाको बास्कुना हुदै सडक सञ्जालले गाउँमा सडक विस्तार भएपछि ब्यापारीसंग बारीमा मुल्यको बार्गेनिङ गर्ने गरेका छन्। गतबर्ष मरेकमा ५ हजार नयाँ विरुवा विस्तार गरिएको थियो ।

विज्ञापन