म्याग्दीको बेनी नगरपालिका वडा नं ९ घतान कोषेपानीका युवा र महिलाहरुले श्रमदान र चन्दा संकलन गरेर खेलकुद मैदान निर्माण गरेका छन् ।स्थानीय कोषेपानी युवा क्लवमार्फत आमा समूहको सहयोगमा २८ मिटर लम्वाई र १४ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् ।

कोषेपानीका युवा र आमा समूहका सदस्यहरुले गाउँमा २ लाख रुपैयाँ नगद चन्दा संकलन गरेर निर्माण कार्यको सुरुवात गरेको खेल मैदान त्यति रकमले नपुग्ने भएपछि प्रतिघर ७÷७ दिनका दरले श्रमदान गरेर निर्माण गरिएको कोषेपानी युवा क्लवका अध्यक्ष दीपकवहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीले दिएको जानकारी अनुसार खेलकुद मैदान निर्माण भएपछि भलिबल र बास्केटबल खेल्नका लागि निकै सहज भएको छ । खेलकुद मैदान निर्माणका लागि हालसम्म रु ५ लाख बराबरको काम भएको र अझै प्याराफिट निर्माण लगाएतको काम बाँकी रहेको छ ।खेलकुद मैदान निर्माण गर्न आर्थिक सहयोगका लागि बेनी नगरपालिका र वडालाई अनुरोध गरिए पनि कुनै सहयोग नभएकाले स्थानीयले आफै अगाडी सरेर खेल मैदान निर्माण गरेका क्लवका अध्यक्ष कार्कीले बताउनुभयो ।–––