म्याग्दीमा भेटिए मनकारी जनप्रतिनिधि

सुविधा दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधीहरुकाबीच म्याग्दीका तीन जना जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमवहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका छन् ।

उनिहरुले आफूले पारिश्रमिकवापत पाएको रकमका साथै व्यक्तिगतरुपबाट समेत लाखौं रुपैयाँ खर्च गरेर गाउँपालिका भित्र विद्यालय र सडक निर्माणका साथै असहाय बालबालिका र बिपन्नलाई सहयोग गरेका छन् । तत्कालिन एमालेबाट निर्वाचित मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले किसानी आधारभूत विद्यालयलाई जग्गा खरिदमा लागेको ३ लाख ५० हजार रुपैयाँ ऋण तिरिदिएका छन् ।

उनले हिदीका ३ जना बालबालिकाको माध्यमिक तहसम्म शिक्षाको जिम्मा समेत लिएका छन् । कांग्रेसबाट निर्वाचित रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले आफैले ४० लाख रुपैयाँ खर्च गरी सडक निर्माण गरेर उदाहरणीय बनेका छन् ।अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमवहादुर पुनले पनि गाउँपालिकाको शैक्षिक र सूचना प्रविधीका क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गरेका छन् ।