जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगखोलामा निर्माणधिन अवस्थामा रहेको नेपालकै लामो दावी गरिएको झोलुङ्गे पुलको प्रचारप्रसारलाई तिब्रता दिन म्याग्दी जेसीजले आइतबार पर्यटन प्रर्बद्धन कार्यक्रम गरेको छ । ब्यक्तिगत तथा नेतृत्व विकास, खेलकुद सहित सदरमुकाम बेनी केन्द्रित कार्यक्रम बाहेक जिल्लाका स्थानीय तहमा पुगेर पर्यटन प्रर्वद्धनात्मक कार्यक्रममा समेत सक्रिय रहेको जेसीजले जिल्लाको नयाँ पर्यटकीय गन्तब्यको रुपमा चिनिएको बेग–बाँदुक जोड्ने पुलमा आवतजावत गर्ने आन्तरिक पर्यटकलाई लक्षित गरी राखिएको बोर्डको वडा अध्यक्ष बिल बहादुर फगामी र म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले उद्घाटन गरेका थिए ।

सोही अवसरमा आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष फगामीले अग्लो झोलुङे पुलमा आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै जान थालेको बताए । उनले म्याग्दीको भ्रमणमा आउने पर्यटकलाई एकपटक पुलसम्म ल्याउने गरी पदमार्ग तथा पुल नजिक सडक समेत विस्तार गरिएको बताए । बेगखोलाबाट रुइसे–भेडीओढार तथा उत्तरी म्याग्दी हुदै मुस्ताङका पर्यटकीयस्थलमा समेत जान सकिने बताए ।

बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत बेगखोला बजार र तिप्लाङ बजार गरी दुईठाउँबाट सवारीसाधनमै पुल नजिक पुग्न सकिने भएकाले एकपटक पुलमा घुम्न आउन समेत अध्यक्ष फगामीले आग्रह गरेका थिए । सोही अवसरमा बोल्दै म्याग्दी जेसिज बर्ष २०१८ का अध्यक्ष कमल विश्वकर्माले आफ्नो कार्यकालभित्र जिल्लाका पाँचवटै स्थानीय तहमा कार्यक्रम गर्ने योजना रहेपनि मालिका र धवलागिरीको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष खम थापाले पुरा गर्ने बताए ।उनले स्थानीय तहमा पर्यटन प्रर्वधन तथा शैक्षिक गतिविधि सम्बन्धि कार्यक्रम गरेको बताए ।

बेगखोलाको ३ सय ६५.८० मिटर लम्बाई र १ सय ५० मिटर भन्दा माथि रहेको छ । बाँदुकमा बेलायत सरकारबाट भिसी सम्मान पाएका स्वर्गीय तुल बहादुर तिलिजा पुनको गाउँ समेत भनेर विश्वभर प्रख्यात रहेको बेगमा स्थानीयबासीको लगानीमा १ करोडको लगानीमा भिसी मार्ग समेत निर्माणका साथै विभिन्न संरचना निर्माण गरेकाले पनि आवतजावतमा सहज हुने स्थानीयको भनाई छ ।