यी कृषि र पशुपालनको क्षेत्रमा मंगला गाउँपालिकाले अनुदान दिने

0

मंगला गाउँपालिकाले कृषि र पुशपालक किसानलाई अनुदानका कार्यक्रम ल्याएको छ । जिल्लाका कृषि र पशुपालनमा प्रसस्तै सम्भावना भएको गाउँपालिका भित्रका किसानलाई चालु आव २०७५÷०७६ सालको स्वीकृत बजेट अन्तरगत सोमबार सार्वजनिक गरेको कार्यक्रममा कृषि तर्फ प्लाष्टिकको टनेल, प्लाष्टिकको पोखरी, मकैको र च्याउको बीउमा ५० प्रतिशत अनुदानको ब्यवस्था गरेकाले आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध सहित सुचना प्रकाशित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

उनका अनुसार कृषिमा कुल लागतको ५० प्रतिशत कृषक वा समुहले ब्यवस्था गर्नुपर्ने छ । त्यस्तै पशु सेवा तर्फ सतप्रतिशत अनुदानमा भैसीको सुत्केरी भत्ता, ब्यवसायीक गाईभैसी फर्म सुदृदीकरण तथा जातिय सुधार र गाईभैसीको नमुना गोठ निर्माण रहेको छ । गतबर्ष पनि जिल्लामा मंगलाले मात्रै भैसीलाई सुत्केरी भत्ता वितरण गरेको थियो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषि र पशुपालनका क्षेत्रमा सम्भावना भएकाले किसानलाई सुविधाका लागी सक्रियता देखाउन अनुरोध गरेका छन् । उनले गाउँपाकिकाका प्राविधिक तथा हरेक वडामा आफ्नो विवरण उपलब्ध गराउन समेत अनुरोध गरे । ‘कृषि तथा पशुपालनबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ,‘सडक सञ्जालले जोडिएकाले पनि बजारको समस्या छैन’ रोकाले भने । उनले कृषि तथा पशुपालन अन्तरगत अर्गानिक मल लगाएत कृषकलाई उत्पादन बढाउन सहज हुने क्षेत्रमा प्राथमिकता दिएको बताए ।