बेनी नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण बजार तथा ग्रामीण भेगमा रहेका बिजुलीका काठका पोललाई विस्थापित गरी स्टिलका पोल (खम्बा) राख्ने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत सहभागितामा नगरपालिका क्षेत्रबाट काठका पोललाई विस्थापित गरेर स्टिलका पोल राख्ने सहमति भएको प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

काठका पोलका कारण ग्रामीण क्षेत्रमा जोखिम बढ्नुका साथै विद्युत् प्रवाहमा समेत समस्या देखिएपछि नगरपालिकाले काठका पोल विस्थापित गरी स्टिलका पोल राख्ने भएको हो । ग्रामीण क्षेत्रमा काठका पोल मक्किएर ढल्नै लागेको अवस्थामा छन् । कतै रुखमा नाङ्गो तार छोइनै लागेको छ । सुरक्षाको जोखिम बढ्दै गएकोले समाधानका लागि स्टिल पोल राख्न लागिएको प्रवक्ता बराइलीले बताए ।त्यसैगरी नगरपालिकाले वडा नं ४ तातोपानी र वडा नं ९ गलेश्वरमा प्रहरी चौकी भवन निर्माणमा लागत सहभागिता जनाउने भएको छ ।

विपद् व्यवस्थापन तथा आपतकालीन अवस्थाका लागि आवश्यक वडामा सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा हेलिप्याड बनाउने योजनामा समेत नगरपालिका रहेको प्रवक्ता बराइलीले जानकारी दिएका छन् । त्यसैगरी सङ्घीय सरकारको एक व्यक्ति एक बिरुवा रोपण अभियानअन्तर्गत बेनपा–३ भकिम्लीका ८१५ घरमा किबीका बिरुवा रोपिएको प्रवक्ता बराइलीले जानकारी दिए ।

विज्ञापन