उच्च पहाडी जिल्ला म्याग्दीमा मङ्गलबार बिहानैदेखि भारी हिमपात भएको छ । खासगरी जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो । सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा दुर्गम तथा विकट गूर्जामा आज दिनभर हिमपात भएको स्थानीयले बताएका छन् । धौलागिरी गाउँपालिका–१, नम्बर वडामा पर्ने गूर्जा गाउँमा अहिले पनि हिमपात भैरहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

गूर्जामा २ फिटसम्म हिउँ जमेको छ भने अहिले पनि हिमपात भैरहेको बताइएको छ ।हिमपातका कारण अत्यधिक चिसो बढेको छ । स्थानीयवासिन्दा घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन्भने चिसोका कारणले गर्दा बाहिर निस्कन गाह्रो परेको वडा अध्यक्ष छन्त्यालले बताए । बिहानैदेखि हिमपात भएपछि स्थानीय जनकल्याण माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । गूर्जामा मात्रै यो वर्षको तेस्रोपटक हिमपात भएको हो । बालबालिकाहरु घर बाहिर निस्कन नसकेको हुँदा अत्यधिक चिसो बढेकाले पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

गूर्जाका साथै जिल्लाको माथिल्लो क्षेत्रहरु लुलाङ, मुदी, खोप्रालेक, घोरेपानी, महरेडाँडा लगायतका क्षेत्रमा सेताम्मे हिउँ परेको छ । म्याग्दीको उच्च क्षेत्रमा हिमपात पर्नु र तल्लो क्षेत्रमा पानी परिरहेको हुँदा सदरमुकाम आसपासका ठाउँमा पनि चिसो ह्वात्तै बढेको छ । हिमपातले धवलागिरीको गुर्जँ लगाएतका क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ ।

मोवालईको टावर हिउँले पुरिएकाले अवरुद्ध भएको छन्त्यालले बेनीअनलाइनलाई बताए । उनका अनुसार गाउँपाकिलाका उच्च बस्तीमा मंगलबार विहानैदेखि सञ्चार अवरुद्ध भएको छ । यसैबीच हिउँ परेपछि कृषकहरु भने उत्साहित भएका छन्। हिमपातपछि जमेको हिँउ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने तथा उत्पादन बढ्ने भएपछि कृषकहरुका लागि हिमपात लाभदायी हुने कृषि प्राविधिकहरुको भनाइ छ ।