कुईनेमंगलेमा हिमपात, विद्यालयको पठनपाठन प्रभावित

0

जिल्लाको विकट रघुगंगा गाउँपालिकाको कुईनेमंगलेमा भारी हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण वडाभित्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ भने डाडाकाँढा,पाखा तथा खर्क क्षेत्र सेताम्मे भएको छ।

मंगलबारदेखि लगातार परेको हिमपातले वडाभित्र रहेको जनसुन्दर आधारभुत विद्यालय, सुन्दरा आधारभुत विद्यालय,रितुङ मावि लगाएतका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको वडा सदस्य प्रति गर्बुजाले बेनीअनलाइनलाई बताईन्।’हिमपातले पशुचौपायालाई चरनक्षेत्रको समस्या भएको छ,‘चिसोले घरबाट बाहिर निस्कने अवस्था छैन’ उनले भनिन् ।

कुईनेमंगलेको माथिल्लो क्षेत्रमा लागतार हिमपात भइरहेको उनले बताईन् । हिमपातका कारण कृषक भने उत्साहित देखिन्छन् । हिमपातले अन्नबालीको उत्पादन बढ्ने तथा चरन क्षेत्रमा समेत राम्रो घाँस हुने भएकाले पनि केहीदिन सास्ती भएपनि बर्षभरी चरन क्षेत्रमा समेत सहज हुने बताउँछन् । अत्याधिक चिसोका कारण खर्कमा रहेका पशुचौपायालाई समेत बस्ती नजिक ल्याइएको छ । File Photo