मुस्ताङमा घरापजोङ गाउँपालिका-१ मा खसेको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएको छ। मंगलबार साँझ चलेको हावाहुरीले ढालेका रूख र सुख्खा पहिरोको ढुंगामाटो नदीमा परेपछि कालीगण्डकी थुनिएको हो।‘भूकम्पले चिराचिरा भएको जमिनका रूख ढलेपछि सुख्खा पहिरो आएर नदीको केही भाग थुनिएको हो,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘बिहानबाट खटिएको नेपाली सेना र प्रहरीको टोलीले रूख हटाएको छ।

नदी बग्न थालिसक्यो। अब माटो फाल्न बाँकी छ। स्काभेटर मगाएका छौं।’ बाढी पूर्वानुमान महाशाखाले नदी खोलिने क्रममा तल्लो तटिय बेनी बजारसम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यता मुस्ताङमा सुख्खा पहिरोले कालिगण्डकीको बाहाव रोकिएपछि म्याग्दी क्षेत्रमा सतर्ककता अपनाउन प्रहरीले अपिल गरेको छ । म्याग्दीका प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढाले बेनीअनलाइनसंग कुराकानी गदै उच्च जोखिम नभएपनि उत्तरी म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका पक्की पुल आसपासका मजदुर तथा नदी आसपासमा रहेका सर्वसाधारणलाई सचेत बनाइएको बताए । उनले मुस्ताङमा नदी आसपासमा समेत फराकिलो जमिन भएकाले पनि म्याग्दीमा ठुलो जोखिम नभएको बताए । उनले नदी आसपासमा नुहाउने तथा मजदुरी गर्नेलाई हटाउन इलाका तथा चौकीमा खवर गरिएको बताए । पहिरोले नदीको अवस्थाका बारेमा निरन्तर बुझ्ने प्रयास भइहेको बताए ।

Nepal Flood Alert! नेपाल बाढी सूचना!@DHM_FloodEWS

अपडेटः
भर्खरै प्राप्त सूचना अनुसार मुस्ताङ जिल्ला घरापजोङ गाउपालिका-१ मा खसेको पहिरोले कालिगण्डकी नदी केहि मात्रामा थुनिन गएको छ। उच्च जोखिम हुने नदेखिएतापनि नदी खोलिने क्रममा तल्लो तटिय वेनि बजार सम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने हुंदा सामान्य सतर्कता अपनाउन अनुरोध।