मुस्ताङको घरपझोङ गाउँपालिका–१ म सुख्खा पहिरो खस्दा थुनिएको कालीगण्डकी नदी आफ्नो स्वभाविक गतिमा बग्न थालेको छ । बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदी थुनिएको थियो ।

नदी भन्दा माथी भूकम्पले चिरा पारेको जमिनमा सुख्खा पहिरो गएर नदी केही समय थुनिए पनि स्काभेटरका माध्यमद्धारा पहिरोले ल्याएका रुख,माटो र गेगर पन्छाएपछि नदी स्वभाविक गतिमा बग्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । चिरा चिरा परेको पहाडमा सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको हो ।

प्रजिअ क्षेत्रीका अनुसार नदी थुनिएको ठाउँमा नेपाल प्रहरीका प्रहरी निरीक्षक थम्मन बहादुर रजालीको नेतृत्वमा ९ जना प्रहरीको टोली र नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले पहिरोले ल्याएका रुख र माटो पन्छाए पछि नदी स्वभाविक गतिमा बग्न थालेको हो । पहिरो पन्छाएकाले अव तत्कालका लागि कुनै खतरा नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो ।