म्याग्दीको सदरमुकाम बेनी बजारमा पछिल्लो समय छाडा छोडिएका पशु चौपायाँको आतङ्क बढ्दै गएको छ ।
बजारमा जथाभावि छोडिएका गाईवस्तु सडकको बिचमा बसिदिँदा ट्राफिक जाम हुनुका साथै सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

विद्यालय जाने र छुट्ने समयमा सडकमा जथाभावि बसेका गाईवस्तुका कारण विद्यार्थीहरुलाई ठूलो समस्या हुने गरेको छ । त्यसै गरी सडक वारपार गर्ने ज्ञान नभएका बृद्धबृद्धा र सर्वसाधारणहरु कति बेला दुर्घटनाको शिकार हुनेहुन भन्ने त्रास बढ्दै गएको मंगलाघाटका कृष्णवहादुर बानियाँले बताउनुभयो ।त्यतिमात्र होइन, छाडा छोडेका पशु चौपायाँले करेसा बारीमा लगाइएका तरकारी फलफूल लगाएतका चीजहरुमा क्षति पु¥याउन थाले पछि बजारबासीहरु पनि हैरान भएका छन् ।

स्थानीय डिलबहादुर घिमिरे करेसाबारीमा लगाएको तरकारी जोगाउनका लागि दिनभरी करेसाबारीमा कुरेरै वस्नु पर्ने वाध्यता रहेको बताउनुहुन्छ । घिमिरेले भन्नुभयो ‘छाडा छोडिएका पशु चौपायाँका कारण करेसावारीमा केही नरहने भयो,एक छिन छोड्ने हो भने कताबाट आएर पसिहाल्छन्,पत्तै पाइँदैन ।’छाडा पशु चौपायाँका कारण सबैभन्दा बढि मारमा तरकारी तथा फलफूल पसले र सडकको क्षेउमा ठेलामा व्यापार गर्दै आएका व्यापारिहरु परेका छन् ।

विरेन्द्रचोकका एक फलफूल व्यापारीका अनुसार छाडा छोडिएका पशु चौपायाँले दैनिक रुपमा दुःख दिने गरेको र क्षति पु¥याइदिने गरेका छन् ।बजारमा छाडा पशु चौपायाँहरुको संख्या बृद्धि हुँदै गएको छ । कसले कतिबेला कहाँबाट ल्याएर छोडिदिन्छ पत्तै हुँदैन । छाडा पशु चौपायाँका कारण ट्राफिक प्रहरी पनि समस्यामा परेका छन् ।

छाडा पशु चौपायाँलाई व्यवस्थित गर्न नगरपालिकाले ‘कान्जी हाउस’ (छाडा छोडिएका पशु चौपायाँलाई राख्ने ठाउँ) को व्यवस्था गर्नु पर्ने वा ट्रकमा हालेर टाढा लगेर छोड्नु पर्ने व्यवस्था मिलाउन आवश्यक रहेको सर्वसाधारणले बताएका छन् । तर, नगरपालिकाले भने यस विषयमा कुनै व्यवस्था गर्न सकेको छैन ।‘समस्या धेरै देखिएको छ, नगरपालिकाले छाडा पशु चौपायाँका लागि कुनै उपायको खोजी गरीरहेको छ’ बजार क्षेत्रमा पर्ने वडा नं ८ का वडाअध्यक्ष एवम् बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले भन्नुभयो । –––