आहा ! रत्नेचौरमा पहेलपुर तोरी

0
732

बेनी नगरपालिका–१ रत्नेचौरमा पहेलपुर तोरी फुलेको छ । खेतबारीमा ढकमक्क फुल्न थालेको तोरीबारीबाट देखिने धौलागिरि हिमाल लगाएत आसपासको खेतबारी, बस्तीमा तोरीको रंगले थप सुन्दरता थपिएको छ । जिल्लाको तोरी उत्पादनमा पकेट क्षेत्र मानिने रत्नेचौरका खेतबारीमा हिउँदको समयमो हुने तोरी सदरमुकाम बेनी तथा छिमेकी जिल्ला बागलुङमा समेत विक्री हुने गरेको छ ।

समथर भुभाग रहेको रत्नेचौरबाट अर्जम, भकुण्डे जोेड्ने ग्रामिण सडकको दुवै क्षेत्रमा गरिएको तोरी माघको दोस्रो सातासम्म गाउँका सबैजसो जमिनमा ढकमक्क हुने तोरी उत्पादनबाट स्थानीय सन्तुष्ट छन् । तेलहन बालीमा पर्ने तोरी जिल्लामै सबैभन्दा धेरै रत्नेचौरमा उत्पादन हुने गरेको छ । जिल्लामा एउटै बस्तीमा धेरै तोरी उत्पादन हुनेमा रत्नेचौर पर्छ । दुईतिन दशक अगाडी जिल्लाका अन्य भुभागबाट समेत पैदलमार्ग हुनै रत्नेचौरमा तोरी पेल्ने जाने गर्दथे ।

रत्नेचौरको तोरी पेल्ने मिलले हाल बेनी नगरपालिका भित्रका सबै वडाका बासिन्दाको तेल मिलको रुपमा प्रयोग हुन्थ्यो । छिमेकी पर्वतको मिलनचोकमा रहेको तोरी पेल्ने मिलभन्दा धेरै रत्नेचौरको प्रयोग हुने गरेको थियो । बेनी नगरपालिका तथा जिल्लाका कुनै पनि गाउँपालिकाले तोरी खेतीलाई आर्कषित गर्ने गरी अनुदानको सुविधा दिएका छैनन् ।

तोरीखेती विस्तारै घट्दै गएको छ । कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत भोज बहादुर थापाका अनुसार तोरी खेतीमा किसानलाई आर्कषित गर्न अनुदान सहित महत्वका बारेमा जानकारी गराउनुपर्ने बताए ।सतप्रतिशत अनुदानको सुविधा र उत्कृष्ट कृषकलाई पुरस्क्ृत गर्न सकिएमा तोरीखेतीमा आर्कषण बढ्ने बताए । बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका खेतबारीमा निर्वाहमुखी तोरीखेतीलाई विस्तार गर्नुपर्ने उनले बताए ।

जिल्लाको तल्लो क्षेत्रमा तोरी उत्पादन हुने गरेको छ । तोरीको बोट सानो हुदाँ तरकारीका रुपमा समेत प्रयोग गर्ने गरिन्छ ।अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारमा किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेका तोरीको तेल गुणस्तरीय हुने र पिना समेत मलको रुपमा प्रयोक्ष् गर्न पाइने भएकाले निरन्तर तोरी खेती गरेका कृषकले खेतीलाई निरन्तरता दिइरहेका छन् । तस्वीर सौजन्य : यसु खड्का र भरत खत्री