सन्तोष गौतम
बेनी ९ माघ । जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ । जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो ।विद्यालयको सूचना अभिलेखिकरण र व्यवस्थापनमा प्रबिधिको उपयोग गर्न क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको गाउँ शिक्षा अधिकारी झलप्रसाद गौतमले बताउनुभयो ।

कार्यक्रमको लक्ष्मण गौतम, मथुरा सुवेदी र मिलन मल्लले सहजिकरण गर्नुहुने जनाइएको छ । कार्यक्रममा जलजला गाउँपालिकामा रहेका ५१ वटा विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।गाउँपालिकाका राजनितिक सल्लाहकार याम शर्मा पौडेलले वैज्ञानिक व्यवस्थापन र गुणस्तरीय शिक्षा भन्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रस्तुत गर्नुभएको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।

जलजला गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा २ नम्बर वडाका अध्यक्ष गोविन्द खत्रीको अध्यक्षता, स्रोत व्यक्ति कमलनयन आचार्यको सञ्चालन र सुभन्तनाथ सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम उद्घाटन गरिएको थियो ।