बेनी नगरपालिकाका चार सय दुई ओटा योजना

0

म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा साना ठूला गरी नगरक्षेत्रमा चार सय दुई ओटा योजनामार्फत विकास निर्माणका कामहरु गरिरहेको छ ।

नगरपालिकाको नगरसभाले स्वीकृत गरेका र कार्यपालिका बैठकबाट थप गरिएका गरी चार सय दुई वटा योजनाहरु छनोट भै चालु अवस्थामा रहेका नगरपालिकाले जनाएको छ । जसमध्ये तीनसय ६३ योजनाहरु नगर सभाबाट स्वीकृत भएका हुन् भने २६ ओटा योजना कार्यपालिका बैठकबाट थप गरिएका हुन् । त्यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ९ ओटा योजनाहरु समेटिएको बुधवारदेखि सुरु भएको चौंथो नगरसभामा नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले जानकारी दिनुभएको हो ।

उपप्रमुख बरुवालले दिएको जानकारी अनुसार पौष मसान्तसम्म १ सय ४७ वटा योजनाहरुको सम्झौता भैसकेको छ भने अरु योजनाहरुको सम्झौता हुन बाँकी रहेको छ । त्यसैगरी २८ ओटा योजनाहरु सम्पन्न भैसकेको जनाइएको छ ।
गत असारमा सम्पन्न नगर सभाबाट चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन गरिएको पुंजीगततर्फको १६ करोड,२३ लाख,१३ हजार रुपैयाँ बजेटमध्ये पौष मसान्तसम्म दुई करोड,२९लाख,३०हजार,२९७ रुपैयाँ खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिकाले बजेटको दुरुपयोग रोक्न नसकेको,उपभोक्ता समितिलाई जिम्मेवार र अपनत्व बोध हुने खालका कामहरु गर्न नसकेको र नगरपालिकाले संचालन गरेका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी र उपलव्धीमूलक बनाउन नसकेको गुनासा नगरवासीबाट सुनिन थालेका छन् ।

नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले नगरवासीहरुका गुनासा र सुझावहरुलाई ध्यान दिँदै चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र सहजिकरणमा ध्यान दिन नगरसभाका सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

सोही अवसरमा उपप्रमुख सञ्जु बरुवालले बेनी नगरपालिकाको राजपत्र प्रकाशन सम्वन्धि कार्यविधि २०७५,स्वास्थ्य संस्था दर्ता,अनुमति र नविकरण निर्देशिका २०७५,पशु सेवा कार्यक्रम संचालन मार्गदर्शन २०७५ र अपाङ्गता भएका व्यक्तिको परिचय वितरण कार्यविधि २०७५ कार्यपालिका बैठकले पारित गरेको जानकारी दिनुभएको थियो ।