बेनपाको चौथो नगरसभा सुरु,पाँच करोड थप बजेट बिनियोजन

0

सन्तोष गौतम- बेनी नगरपालिकाको चौथो नगरसभा बुधबारदेखि बेनीमा सुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्था र नगर कार्यपालिकाले गरेका निर्णयहरुको बारेमा जानकारी गराउनुभयो ।

उपप्रमुख बरुवालले कार्यपालिकाको निर्णय अनुसार भएका खर्च विवरण अनुमोदनका लागि नगरसभामा प्रस्तुत गर्नुभयो । उहाँले नगरपालिकाको कार्यसम्पादन र सेवा प्रवाहलाई सहज बनाउन तथा विकास निर्माणलाई तिब्रता दिन कार्यपालिकाबाट पारित गरिएका कार्यबिधि, मार्गदर्शन र निर्देशिकाको बारेमा जानकारी गराउनुभयो ।

बेनी नगरपालिकाको राजपत्र प्रकाशन सम्बन्धि कार्यबिधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यबिधि २०७५, स्वास्थ्य संस्था दर्ता, अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका २०७५ र बेनी नगरपालिकाको पशु सेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ कार्यपालिका बैठकले पारित गरेको नगरसभामा जानकारी गराउनुभयो ।

नगरसभामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि नीतिगत व्यवस्थापन ऐन २०७५ को बिधेयक टेवल (पेश) भएको छ। नगर कार्यपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टेकबहादुर रावलले ऐनको मस्यौदा नगरसभामा पेश भएको जानकारी गराउनुभएको थियो । नगरसभामा पेश भएको ऐन वडापालिका स्तरमा छलफल गरी सुझावका लागि पठाइएको छ । अर्को नगरसभा बैठक माघ १७ गते बोलाइएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र सहजिकरणमा ध्यान दिन नगरसभा सदस्यहरुलाई आग्रह गर्नुभयो । बजेटको दुरुपयोग रोक्न, उपभोक्ता समितिलाई जिम्मेवार बनाउन र योजना तथा कार्यक्रमलाई उपलिब्धमुलक बनाउन सकेमा मात्र नगरपालिकाले उद्देश्य पुरा गर्न सक्ने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

चालू आर्थिक वर्ष २०७५÷७६ का लागि पुँजीगततर्फ १६ करोड २३ लाख १३ हजार रुपैयाँ बिनियोजन भएकोमा छ महिनाको अवधिमा दुई करोड २९ लाख ३० हजार २९७ रुपैयाँ खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । कुल पुँजीगत बजेटको १४ दशमलब १२ प्रतिशत खर्च भएको छ ।

नगरपालिकाले नगरसभाबाट स्विकृत ३६३, कार्यपालिका बैठकबाट थप गरिएका २६ र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतका ९ वटा गरी ४०२ वटा योजना सञ्चालन गर्ने भएको छ । जस मध्य पौष मसान्तसम्म १४७ वटा योजना सम्झौता र २८ वटाको कार्य सम्पन्न भएको नगर उपप्रमुख बरुवालले जानकारी दिनुभयो ।चालु आर्थिक वर्षको कुल ५३ करोड ८९ लाख १३ हजार रुपैयाँ बजेट मध्य संचित कोष र समपुरक कोष, आन्तरिक आय शिर्षकबाट विभिन्न योजना तथा कार्यक्रमहरुका लागि थप पाँच करोड तीन लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

सडक बोर्डतर्फ बेनी–अर्थुङ्गे–पात्लेखेत सडकलाई १५ लाख, मोना–बेनी–लभ्लिहिल पदमार्गलाई चालीस लाख ७० हजार, सरसफाई केन्द्रको लागि ४८ लाख २३ हजार ४४७, सरसफाई केन्द्र प्रभावित क्षेत्रको योजनाका लागि दश लाख, बेनपा ६ को बस्ती संरक्षणका लागि दश लाख, भकिम्ली बहुउद्देश्यिय भवनको लागि पाँच लाख, महारानीथान–अग्नीखेत सडकलाई थप सात लाख २६ हजार ६३२, कालिपुलको सार्वजनिक शौचालयलाई सात लाख १० हजार ७४५ रुपैयाँ बजेट बिनियोजन भएको छ ।

दरवाङ बसपार्क सुरक्षा योजनाका लागि १९ लाख ९० हजार ६५०, क्यान्टिन निर्माणका लागि १३ लाख छ हजार ४२६ बिनियोजन भएको छ । वडादशैमा ग्रामिण सडक मर्मतका लागि २७ लाख ३२ हजार ४४५ रुपैयाँ खर्च भएको नगरसभामा जानकारी गराइएको थियो ।

सिंगाको शिव मन्दिर निर्माणका लागि एक लाख, बेनपा २ को लिफ्ट सिचाई योजनाका लागि पाँच लाख, वन तथा भुसंरक्षण कार्यक्रमको लागि दुई लाख, तातोपानी बजार ढल निकास योजनालाई ४५ लाख, जयन्ती माविको भवन पूर्वाधारका लागि दश लाख, डडुवा लिफ्ट खानेपानी योजनालाई एक लाख ३५ हजार, स्वास्थ्य बिमा कार्यक्रमका लागि तीन लाख र स्वास्थ्य कार्यालयका सहयोगकीको तलबका लागि दुई लाख ७० हजार रुपैयाँ बिनियोजन भएको छ ।

शिक्षा क्षेत्रका कार्यक्रमका लागि ११ लाख, आर्थिक सहायतका लागि पाँच लाख, शैक्षिक किट बक्स वितरणका लागि तीन लाख ४४ हजार ८५, सिर्जनशिल बाल कल्वको भवन डम्मरामा सञ्चालित अनौपचारिक प्राथमिक शिक्षालाई ८४ जार ६००, बेनी खानेपानी स्मार्ट ग्रिडको लागि आउको कोरियन टोलीको कार्यक्रम खर्चका लागि एक लाख ३३ हजार, भगवती मन्दिर मर्मत तथा रंगरोगनका लागि एक लाख ३२ हजार ६७७, सामुदायिक प्रहरी भवन मर्मतका लागि दुई लाख ८३ हजार २५० रुपैयाँ बिनियोजन भएको छ ।

नगरपालिकाको बैठकको निर्णय अनुसार विभिन्न समयमा २४ लाख ९२ हजार ५०० रुपैयाँ खर्च भएको समेत नगरसभामा जानकारी गराइएको थियो । खानेपानी तथा सिंचाइ पाइपको लागि दश लाख र आपतकालिन विपद् व्यवस्थापनको लागि खरिद गरिएका ग्यावियन जालीको ११ लाख रुपैयाँ खर्च कन्टिन्जेन्सीबाट र नदी किनारहरुको आइइई गर्नका लागि विनियोजन गरेको पाँच लाख परामर्श सेवा, अध्ययन अनुसन्धान शिर्षकबाट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

गत नगरसभाबाट बिनियोजन भएको रकममा चालु प्रकृतिका खर्चहरुमा अपुग हुने ८५ लाख रुपैयाँबाट कार्यालय सञ्चालनमा दश लाख, करार सेवा शूल्कमा बीस लाख, अनुगमन कार्यक्रमका लागि पाँच लाख, विविधमा १५ लाख, घरभाडामा दुई लाख, अन्य भाडामा तीन लाख, भैपरी आउने खर्चमा पाँच लाख, पदाधिकारी पारिश्रमिकमा पाँच लाख र कार्यक्रम भ्रमण खर्चमा बीस लाख थप गरि बिनियोजन गरिएको छ ।