प्राकृतिक चिकित्सालय म्याग्दीको तातोपानी कुण्डमा धमाधम पूर्वाधार बन्दै

0

प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको तातोपानी कुण्डमा पछिल्लो समय धमाधम पूर्वाधार विस्तार भैरहेको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डमा पूर्वाधार विस्तारलाई जोड दिइएको हो ।
कुण्डमा स्नान गर्न आउने बिरामीहरुको दैनिकजसो चाप बढ्दै जान थालेपछि पूर्वाधार विस्तारको कार्यलाई जोड दिन थालिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । पछिल्लोपटक कुण्डको नजिकै बाथटप निर्माण गरिएको छ।

तीनवटा बाथटप क्याबिन (नुहाउन मिल्ने) को निर्माणसम्पन्न भैसकेको हुँदा केही दिनभित्रै सञ्चालनमा आउने समितिले जानकारी दिएको छ । बाथटपमा एकपटकमा तीन जनाले नुहाउन सक्नेछन् । यसैगरी कुण्डभन्दा बाहिर हालै पोखरी निर्माण गरिएको छ । कुण्ड बन्द भैसकेपछि, कुण्डमा भीडभाड भएमा, महिला र पुरुषको पालो छुट्टाछुट्टै परेमा, रिजर्भमा नुहाउन चाहेमा वा अध्ययन अवलोकन तथा भ्रमणमा आउने टोलीलाई लक्षित गरेर पोखरी थप गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिएका छन् ।

तातोपानी कुण्डको मुहानबाट पानी ल्याएर सङ्कलन गरी स्नान गर्ने व्यवस्था मिलाइएको उक्त पोखरी १२ मिटर लम्बाई र १२ मिटर चौडाइको क्षमता रहेको उनले बताए । त्यस्तै कुण्डमा डुबुल्की मार्न आउने बिरामी, धारामा नुहाउने सर्वसाधारण तथा बिरामीको सुविधाका लागि कुण्ड बाहिरको परिसरमा ४ वटा शौचालय बनाइएको छ । शौचालय पनि निर्माणसम्पन्न भैसकेको हुँदा तुरुन्तै सञ्चालनमा ल्याइने कुण्ड व्यवस्थापन समितिका सहसचिव केसीको भनाइ छ ।

कुण्ड बाहिरका धाराको आसपासमा भीडभाडमा नुहाउन बिरामीको सहजताका लागि पानी सङ्गाल्ने ट्याङ्की (ड्रम)हरु पनि जडान गरी सञ्चालनमा ल्याइएको छ । पछिल्लो समयमा कुण्डमा निर्माण गरिएका संरचनाहरु कुण्ड व्यवस्थापन समितिमार्फत कुण्डकै आम्दानीबाट बनाइएको उनले बताए । कुण्डमा पूर्वाधार निर्माणकार्य तीव्र पारिएको छ ।

तातोपानी कुण्डमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित जापान र बङ्गलादेशबाट समेत विदेशीहरु नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिसँग तथ्याङ्क रहेको छ । नेपालीका साथै विदेशी पर्यटकहरु पनि कुण्डमा स्नान गर्नका लागि आउने गरेका छन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला राख्ने गरिएको छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रटको तापक्रममा बिरेनुनको स्वादसँगै निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास छ ।

कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु पटकपटक आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । स्वदेश तथा विदेशका ठूला र महङ्गा अस्पतालहरुमा लाखौं रुपैयाँ खर्च गरेर पनि रोग निको नभएपछि बिरामीहरु तातोपानी कुण्डमा आएर स्नान गर्दा उनीहरु निको भएर पुनः फर्कने गरेको उनले बताएका छन् । कुण्डमा डुब्नका लागि समितिले टिकटको व्यवस्था गरेको छ ।