विना प्रतिष्पर्धा ‘जिम्मा’ शब्द राखेर ७० लाखको ठेक्का !

0

जनप्रतिनिधि र संस्थाका पदाधिकारीले चाहेमा कानुनलाई शब्दमा खेलाएर कसरी आफू अनुकुलको काम गर्न सक्दा रहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोटमा स्थित अर्जुन मावि भकुण्डेमा देखिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ म्याग्दीले भवन निर्माणका लागि दिएको ७० लाख २० हजार रुपैयाँ अनुदानबाट निर्माण हुने अर्जुन माविको ४ कोठे २ तले आरसिसि ढलान भवनका लागि विना प्रतिष्पर्धा ठेक्का सम्झौता गरिएको छ ।

५० लाख रुपैयाँ भन्दा बढिको योजनामा उपभोक्ता समिति वा कुनै पनि संघ संस्थाले ठेक्का मार्फत काम गराउनु परेमा प्रतिष्पर्धा गराउनु पर्ने कानुनी व्यवस्था भएता पनि अर्जुन माविको भवन निर्माणका लागि विना प्रतिष्पर्धा ‘जिम्मा’ शब्द राखेर आफू अनुकुलको व्यक्तिलाई ठेक्का मिलाइएको स्थानीयले आरोप लगाएका छन् ।

जनप्रतिनिधि (बेनी नगरपालिका २ का वडा अध्यक्ष ) समेत रहेका अर्जुन माध्यमिक विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष हिरावहादुर थापाले पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईसंग विद्यालय व्यवस्थापन समितिले सम्झौता गरेको भएपनि व्यवस्थापन समिति आँफैले काम गर्न नसक्ने भएकोले निर्माणको ‘जिम्मा’ स्थानीय निर्माण व्यवसायी समेत रहेका डम्मर सापकोटालाई दिइएको बताउनुभयो ।

वडाअध्यक्ष थापाले विद्यालय भवन निर्माणको ‘जिम्मा’ भनेपनि त्यो ठेक्का भएको स्थानीयले बताएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य भीमवहादुर पौडेलले विना प्रतिष्पर्धा यसरी एकाधिकार जमाएर आफू अनुकुलको व्यक्तिलाई ठेक्का दिनु गैरकानुनी भएकोले आफूले उपस्थितिमा हस्ताक्षर गरेपनि निर्णयमा हस्ताक्षर नगरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितीका सल्लाहाकार दिलवहादुर कार्कीले भवन निर्माणको ‘जिम्मा’ ठेक्का पाएका सापकोटाले विद्यालयलाई २ लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको र सापकोटासंग निर्माणका लागि चाहिले सम्पूर्ण साधनहरु पनि भएकोले उनैलाई काम दिइएको बताउनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाइ म्याग्दीका प्रमुख शिवराम गेलालले तेस्रो पक्षलाई कामको ‘जिम्मा’ (ठेक्का) दिन नपाइने बताउँदै यदी त्यसो भएको पाइएमा पुननिर्माण प्राधिकरणले कारबाही समेत गर्न सक्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

त्यसैगरी बेनी नगपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले ठूला योजनाहरु विना प्रतिष्पर्धा कसैलाई पनि ठेक्का लगाउन नपाउने बताउनुभयो । अर्जुन माविका प्रधानाध्यापक शिवकुमार खत्रीले लिखित रुपमा ठेक्का शब्द नराखिएको बताउँदै ‘जिम्मा’ शब्दले ‘ठेक्का’ भन्ने अर्थ नै बुझाए पनि विद्यालयको भवन निर्माण हुनु नै पहिलो प्राथमिकता हो भन्नुभयो ।
यसरी शब्दलाई खेलाएर कानुनको वेवास्ता गर्दै आफू अनुकुलको काम गर्दै जाने हो भने कानुनी मर्यादा र कानुनको पालनमा नै गम्भिर प्रश्न चिन्ह खडाहुने देखिएको छ ।