म्याग्दीका कलिला पुख्यौली समुह

0

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययरत अरुण पुर्जाले नियमित पुख्यौली नाच सिक्छन् । उनले गाउँका पुराना कलाकारहरुको उपस्थितमा पुख्यौली सिक्न लागेको एकबर्ष पुरा भयो । पूर्जासंगै सोही विद्यालयका विबस चोचाङ्गी, एशिस शेरपुञ्जा, एकचन्द्र पुन अनमोला पुर्जाले पनि पाका कालारकाले जस्तै पुख्यौलीमा सहभागी हुन्छन् ।

विद्यालयमा अध्ययरत करिव आधादर्जन विद्यार्थीले पुराना कलाकारले जस्तै मादले र मारुनीको भुमिकामा स्थानीय तथा जिल्लास्तरका केही कार्यक्रममा समेत सहभागिता जनाएका छन् । सामुहिक रुपमा गाउने र नाँच्ने पुख्यौली नाच विस्तारै लोभ हुन थालेपछि पुराना पुस्ताले नयाँलाई हस्तान्तरण गर्ने अभियानमा जुटेपछि नारच्याङका बालबालिका समेत पुख्यौली नाचमा आर्कषित भएका हुन् ।

बुढापाकासंगै मादले र मारुनी भएर बालबालिकाले गाउँदेखि प्रतियोगितासम्म सहभागीता जनाउने गरेको दृष्यले धेरैलाई आर्कषित गर्ने गरेको छ । ‘विद्यालयभित्र पनि हामीले सिक्छौ,‘पढाईलाई असर नगर्ने गरी मैले धेरैपटक कार्यक्रममा सहभागीता जनाएको छु’ कक्षा ७ मा अध्ययरत अनमोल पुर्जाले बेनीअनलाइनलाई भने।

उनले विद्यालय समय बाहेक गाउँमा अभ्यास गर्ने बताउँदै पुस महिनाको अन्तिम साता दानामा आयोजित दाना महोत्सवमा समेत सहभागिता जनाएको बताए । उनले मेलापर्व तथा जिल्लास्तरका कार्यक्रममा अन्य ठाउँबाट आएकाको मादले र मारुनीको प्रस्तुतीबाट समेत सिक्ने गरेको बताए । यूवापुस्ता रोजगारीको सिलसिलामा विदेश पलायन हुन थालेपछि विद्यालयका विद्यार्थीलाई नै सीप हस्तान्तरणको अभियान सुरु भएको प्रधानध्यापक सुक बहादुर गर्बुजाले बताए ।

‘बालबालिकाको सक्रियताले स्थानीय पुराना कलाकार समेत उत्साहित छन्,‘सिक्दै गरेको हेर्न बृद्धबृद्धा समेत आउँछन्’ उनले भने । प्रअ गर्बुजा पनि कलाकार हुन् । विद्यालयभित्र शुक्रबारे कार्यक्रममा समेत बालबालिकाले पुख्यौली नाचमा सहभागीता जनाउने अवसर पाउने गरेको प्रअ गर्बुजाको भनाई छ । आफ्नै समुदायको कला र संस्कृतिको जर्गेना गर्न विद्यार्थीलाई दिइएको तालिमले अभिभावक समेत दंग परेको विद्यालयकी शिक्षिका मिना पुर्जाले बताईन् ।

उनले आफ्नो छोराले तालिम तथा फुर्सदमा घरमै समेत अभ्यास गर्ने गरेको बताउँदै हरेक जिल्लाकै पहिचानको रुपमा रहेको नाचको संरक्षणका लागी विद्यालयस्तरमै तालिमको आवश्यकता रहेको बताईन् । पुख्यौलीलाई सोरठी, मादले मारुनी नाच, मारूनी नाच, पूरानो नाच, बुढापाकाको नाच, सरस्वती उतार्ने नाच, हाई हाल्ने नाच, सेदो पुर्ने नाच जस्ता धेरै नामले समेत चिन्ने गरिन्छ । सामुहिक नाच भएकाले पनि यसमा मुख्य मादले, मादले, मारुनी, हँस्यौ्रली पात्रा र गायक मण्डलीले आफ्नो जिम्मेबारीलाई कुलशलतापूर्वक पुरा गर्छन् ।