हिउँको घुम्टोले छोप्यो धवलागिरी गाउँपालिकाका सबै बस्तीलाई (फोटो फिचर)

0
488

म्याग्दीको धवलागिरी गाउँपालिकाका अधिकांस बस्ती हिमपातले सेताम्मे भएको छ । शुक्रबारदेखि लगातार परेको बर्षासंगै गाउँपालिकाको तल्लो क्षेत्रमा पर्ने बस्तीहरुमा समेत हिमपात भएको हो । हिमपातले धवलागरी गाउँपालिकाका नाङ्गा डाडाकाँढा,पाखा पखेरा,खर्क लगाएतका बस्तीहरुलाई हिउँको घुम्टोले छोपेको छ । ‘गाउँपालिकाका सबै वडामा हिमपात भएको छ,‘हिमपातसंगै मौसम खुलेपछि हिउँमा खेल्न थालेका छन्’ गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बेनीअनलाइनलाई भने ।

उनका अनुसार गाउँपालिकाको केन्द्र मुना आसपासमा सेताम्मे हिउँमा बालबालिका रमाइरहेका छन् । लामो समयपछि परेको पानीसँगै धवलागिरी गाउँपालिकाको लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ, ताकमका तल्लो क्षेत्रमा समेत हिमपात भएको हो । हिमपातले जनजीवन अस्तब्यस्त भएको थियो। हिमपातसंगै सञ्चारविच्छेद भएको गाउँपालिकाको माथिल्लो क्षेत्रमा विस्तारै मोवाईल सम्पर्क हुन थालेको गाउँपालिकाका प्रबक्ता झकबहादुर छन्त्यालले बताए ।

उनका अनुसार सबैभन्दा बाख्लो हिमपात गुर्जामा भएको छ । गुर्जामा हिमपात भएपनि त्यहाँ सञ्चार सम्पर्क हुन सकेको छैन् । हिमपातसंगै गाउँपालिकाको तल्लो क्षेत्रमा हिउँ खेल्न थालेका छन् । बाक्लो हिमपातले कृषकहरु पनि खुशी भएका छन् । उनीहरु हिउँदे बाली फस्टाउने विश्वासमा हिमपातपछि रमाएका हुन् ।