पहाडी जिल्ला म्याग्दीकाे तल्लाे क्षेत्रमा पनि यसपटक बाक्लो हिमपात भएको छ । जिल्लाका माथिल्लो क्षेत्रमा बर्सेनि हिमपात हुने भए पनि तल्लो क्षेत्रमा भने २०६३ सालपछि पहिलो पटक हिमपात भएको हो ।१२ वर्षपछिको हिमपातका कारण म्याग्दीको जनजीवन प्रभावित छ । कतै रमाइलो छ भने कतै जाडोका कारण स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् ।

म्याग्दीको सदरमुकाम बेनी बजारमा हिमपात नभए पनि सदरमुकामदेखि १० किलोमिटर दूरीका क्षेत्रहरुमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण ग्रामीण भेगमा यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् ।बेनी नगरपालिकाको वडा नं. ३ ज्यामरुककोट वडा नं ३ भकिम्लीलगायतका तल्लो भेगका क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर भएको बेनी नगरपालिका २ का हरिप्रसाद शर्माले बताए ।भारी हिमपातका कारण युवकयुवतीलाई रमाइलो भए पनि बृद्धबृद्धा र बालबालिकालाई भने सास्ती भएको छ । पशुचौपायाहरु भोकै गोठमा बाध्नुपर्ने अवस्था आएको गाउँलेले बताएका छन् ।

केही दिनयता बढेको चिसोका कारण ग्रामीण क्षेत्रमा ज्वरो, रुघा, खोकीलगायतका बिरामी बढ्न थालेका छन् । हिमपातका कारण अन्नबाली राम्रो हुने भएपछि कृषक भने खुसी छन् ।सदरमुकाम बेनी बजारनजिकै भएको हिमपातमा रमाउनका लागि थुप्रै युवकयुवती त्यहाँ पुगेका छन् । म्याग्दीको तल्लो क्षेत्रमा डेढ फिटदेखि माथि र उपल्लो क्षेत्रमा चार फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । चिसोका कारण कुनै अप्रिय घटना नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।