म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजामा हिमपातका कारण विद्युतका काठेपोल (खम्बा) भाँचिए पछि शुक्रवार रातीदेखि गाउँ नै अन्धकार बनेको छ । केही दिन अघिदेखिको चीसो र शुक्रबार राती १० बजे बाट सुरु भएको हिमपातको कारण मङ्गला गाउपालिका ३ बरङ्जा, झाक्रीपानी र छेउछाउको बस्तिमा विद्युत लाइन प्रशारणका लागि गाढिएका ४५ वटा काठे पोल (खम्बा) मध्ये ३२ ओटा पोल भाचिएका र तार चुँडिए पछि विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत प्राधिकरण बेनीका दण्डपानी जैसीका अनुसार यस अघि नै पोलहरु भाचिने अवस्थामा थिए । विद्युत प्राधिकरणलाई पटक पटक काठेपोल फेर्न अनुरोध गरिएको भए पनि वेवास्ता गरेको स्थानीय समाजसेवी सोमवहादुर छन्त्यालले बताउनुभयो ।गाउँमा विद्युत लाइन विस्तारका लागि गाडिएका ४५ पोलहरु सबै कामै नलाग्ने अवस्थामा पुगेका र छिटै ती पोलहरु परिवर्तन नगर्ने हो भने अप्रिय घटना घट्न सक्ने स्थानीय युवा दर्पण रोकाले जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाको सबैभन्दा उच्च स्थानमा रहेको झाँक्रीपानी पर्यटकीय हिसावले अत्यन्तै महत्वपूर्ण हुँदा हुँदै पनि सरकारी वेवास्ता र पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ रहेको छ । विगत ५ दिन अघिदेखिको अत्यधिक चिसोका कारण यहाँका वासिन्दाहरु रुघाखोकी र ज्वरोको शिकार भएका छन् । हिमपातका कारण शुक्रवार रातीदेखि चिसो झनै बढेको छ । त्यसमा पनि झन विद्युतका पोल भाचिए पछि अन्धकारमा वस्नुपर्दा यहाँको जनजीवन अत्यन्त प्रभावित भएको स्थानीयले बताएका छन् ।