म्याग्दी जेसीजको २० औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार म्याग्दी जेसीजको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी वर्ष २०१९ का निर्वा्चित तथा मनोनित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि क्रियाशिल म्याग्दी जेसीजले जेसीजको एक व्यक्ति, एक पद, एक कार्यकाल अनुसार प्रत्येक वर्ष नेतृत्व परिवर्तन गर्ने गर्दछ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य विनोद केसीले नेतृत्व परिवर्तनको प्रचलन जेसीजबाट सबैले सिक्नु पर्ने धारणा व्यक्त गरे । ‘एउटै पदमा बषौंसम्म बस्नेहरुलाई जेसीज एउटा सन्देश हो,‘यूवाहरुको सक्रियताले नै समृद्ध नेपाल सम्भव छ’ केसीले भने। उनले वर्षायाममा कालिगण्डकी नदीको कटानले बजार जोखिममा परेकोले तत्कालै तटबन्धनको काम सुरु हुने बताए । बजेट विनियोजन भएपनि ठेक्का प्रकृयाले केही समय अल्झिएको बताउँदै सांसद केसीले जिल्लाको विकासमा प्रदेश र केन्द्र सरकारले प्राथमिकता दिएको बताए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, बेनी नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, बागलुङ जेसीजका अध्यक्ष एन्जल शाक्य, पर्वत जेसीजका अध्यक्ष मोहन आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वर्ष २०१८ का शाखा अध्यक्ष कमल विश्वकर्माले पद हस्तान्तरण गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने बोर्डका पदाधिकारी तथा उत्कृष्ट सदस्यहरुलाई मायाको चिनो तथा पुरस्कार वितरण गरेका थिए ।

विश्वकर्माले वर्ष २०१८ लाई उत्कृष्ट जेसीज बनाउनका लागि सहयोग गर्ने विभिन्न सामाजिक संघ संस्था, व्यक्तिहरुलाई समेत सम्मान गरेका थिए । वर्ष २०१८ मा म्याग्दी जेसीजले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको थियो ।त्यसैगरी पदभार ग्रहण गर्दै वर्ष २०१९ का लागि नव निर्वा्चित शाखा अध्यक्ष खम थापा मगरले गतबर्षको कार्यक्रमसंगै ग्रामिण क्षेत्रमा केन्द्रित भएर कार्यक्रमह्रु सञ्चालन गर्ने बताए । उनले यूवाहरुको आर्कषणलाई थप बलियो बनाउँदै ग्रामिण क्षेत्रमा समेत जेसीजमा आवद्ध हुने यूवाहरुको जमघट गराउने बताए ।

म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठको स्वागत वर्ष २०१८ का महासचिव विरेन्द्र श्रेष्ठ, निर्वाचन समिति सदस्य भिमसेन बराईली र वर्ष २०१९ का महासचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्षहरु, साधारण सदस्य, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो।यसैगरी सोही कार्यक्रमको अवसरमा म्याग्दी जेसीजले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

सम्भावनाहरुका लागि नेतृत्व विषयका अन्तर मावि स्तरिय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने लिटल गार्डेन एकेडेमीका अभिषेक पौडेल, द्वितिय स्थान हासिल गर्ने न्यु वेष्ट प्वाईन्ट आमाविका श्रेया श्रेष्ठ, तृतीय स्थान हासिल गर्ने माउण्ट एभरेष्ट आमाविका निलन छन्त्याल र सान्त्वना स्थान हासिल गर्ने न्यू वेष्ट प्वाईन्ट आमाविकै केशव रोका मगरलाई क्रमशः नगद रु २ हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विनोद केसी र नव निर्वा्चित अध्यक्ष खम थापा मगरले पुरस्कार वितरण गरेको महासचिव सन्दिप खत्रीले बताए ।