छोराको छेवरलाई आवश्यक खाद्यान्न सामानका लागि खच्चड लिएर धवलागिरी गाउँपालिका–३ मुनामा आएका जोखे छन्त्याल अलपत्र छन् । माहिला छोराको छेवरसंगै गाउँलेलाई आवश्यक पर्ने खाद्यान्न साम्रागी सहितको आपूर्तीका लागी गत शुक्रबार मुनामा आएका वडा नं १ गूर्जाका छन्त्यालले चारदिनदेखि हिमपातका कारण मोवाईल सेवा अवरुद्ध बनेपछि घरपरिवारसंग कुराकानी गर्न पाएका छैनन् ।

छन्त्यालसंगै गूर्जाका खेमबहादुर, झकबहादुर, रिता छन्त्याल र रिम बहादुर किसानको खच्चड समान लोड गरेको अवस्थामा अलपत्र परेका छन् ।‘मौसमले मेरो छोराको छेवरलाई रोक्यो,‘परिवारसंग सम्पर्क गरेर कुराकानी गर्न नपाउँदा ज्यादै छट्पटी भइरहेको छ’ जोखेले भने ।उनले मुनाबाट लुलाङसम्मको यात्रा सहजै भएपनि लुलाङबाट गुर्जा पुग्ने अवस्था नभएपछि आवतजावत बन्द भएको बताए ।

लुलाङ र गूर्जाको सिमाना पर्ने देउरालीमा करिव चार फिट हिमपात भएको छ । देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो ।चट्टानजस्तै हिउँ नपग्लिदाँ गूर्जाबाट गाउँपालिकाको केन्द्र हुदै सदरमुकाम बेनी आउने स्थानीय अलपत्र गरेको मुनामा रहेका वडा अध्यक्ष भकप्रसाद छन्त्यालले भने ।

उनका अनुसार मौसममा परिवर्तन भएमा हिउँलाई काट्दै आपतकालिन् ट्याक बनाउन सकिने बताए ।‘मौसममा अझै परिवर्तन भएको छैन्,‘बर्षाका कारण हिमपात जारी छ’ छन्त्यालले भने । उनका अनुसार पैदलमार्गमा करिब चार फिट हिउँ जमेपछि आवतजावतको क्रममा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी खाद्यान्न सहितको साम्रागी ढुवानीको तयारीमा रहेका खच्चड सहित भरियारलाई समेत केन्द्रमै रोकिएको बताए ।एक सातायता लगातारको हिमपातले गूर्जाको जनजीवन अस्तब्यस्त भएको छ ।

एउटै गाउँमा रहेको बस्तीमा करिव दुईफिट हिउँ जमेपछि कलिला बालबालिकादेखि बृद्धबृद्धा घरभित्रै बसेका छन् । गएको शनिबारदेखि स्थानीयले पशुचौपायालाई आवश्यक पर्ने घाँस समेत लिन पाएका छैनन् । बस्ती आसपासका चरन क्षेत्रमा जाने बाटो हिमपातले पुरिएको छ । ‘घरबाहिरको शैचालयमा पुुग्न पनि निकै समस्या छ,‘यसपटकको हिमपातले जनतालाई ठूलै समस्या पारेको छ’ रिम बहादुर किसानले भने।

उनका अनुसार हिमपातले हिउँले बालीलाई सहज हुने भएपनि दुई फिटसम्म हिउँ जमेकाले क्षती भएको बताए ।मौसममा परिवर्तन भएपनि गूर्जा तथा आसपासका क्षेत्रमा परेको हिउँ हट्न करिव एकसाता लाग्ने किसानले बताए । तीनदिन अगाडी पदमार्ग बनाउन प्रयोग गरिएको सम्रागीले हिउँमा अस्थायी मार्ग बनाएको बताए । ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाई छ ।

गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन् । हिमपातले मोबाईल, पदैलमार्ग र लघुजलविद्युत परियोजनामा समेत क्षती पुगेपछि गूर्जाबासी अन्धकारमै छन् । अध्ययन, ब्यापारब्यवसाय, उपचारका लागि गएका आफन्त घरपरिवासंग कुराकानी गर्न नपाएपछि स्वदेश तथा विदेशबाट समेत अलपत्र परेकाहरुलाई सम्पर्क गरेर गाउँको अवस्था बुझ्ने गरेका छन् । यसैबीच १२ बर्षपछि परेको हिमपातले जिल्लाको तल्लो क्षेत्रको जनजीवन समेत प्रभावित भएको छ ।

पर्यटकीय क्षेत्र टोड्के, रुईसे लगाएतका क्षेत्रमा हिउँमा खेल्न जाने क्रम रोकिएको छैन् । तल्लो क्षेत्रमा हिमपातसंगै छिटफुट बर्षाले चिसो बढेको छ । हिमपात र हावाहुरीले काठको पोलमा क्षती पुग्दा जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत आपूर्ती बन्द भएको छ । जिल्लाको बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकाका ग्रामिण क्षेत्रमा केन्द्रिय प्रशारण लाईन र लघुजलविद्युतमा हिमपातले असर गरेपछि नियमित विद्युत आर्पूतीका लागि करिब एकसाता लाग्ने नेपाल विद्युत प्राधिकरण बेनी शाखाले जनाएको छ ।