सामुहिक प्रयासले मात्र महिला तथा बालबाकिलाहरु बिरुद्ध हुने हिंसा कम गर्न सकिने म्याग्दीको मालिका गाउँपालिकामा मंगलबार आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । महिला तथा बालबालिका भएकै कारण गरिने शारीरिक, मानसिक, सामाजिक शोषणमुक्त गाउँपालिका बनाउने अभियान सामुहिक प्रतिबद्धताको आवश्यकता रहेको बताइएको थियो ।

मालिका गाउँपालिकको आयोजना तथा इलाका प्रहरी कार्यालय दरबाङको संयोजनमा आयोजित महिला तथा बालबालिका विरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बक्तृत्वकाला प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँपालिकालाई हिंसामुक्त बनाउने अभियानमा घरघरबाट सक्रियता देखाउनुपर्ने बताए । ‘जनचेतनामुलक कार्यक्रम विद्यालयस्तरमै गरिन्छ,‘जनचेतनामुलक कार्यले पनि हिंसा न्यूनिकरणमा बल पुग्छ’ रोकाले भने ।

गाउँपालिकास्तरीय प्रतियोगितामा किसानी मावि बिमकी जेनिसा गर्बुजा प्रथम, केबी एकेडेमी दरबाङकी खिमा सिउथानी द्धितिय, जनप्रिय मावि दरबाङकी छात्रा प्रतिक्षा सुबेदीले तृतिय स्थान हात पारेकी थिईन भने जनप्रियकै छात्र विनोद न्यौपानेले सान्त्वना स्थान हात पारेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमश ८ हजार, ५ हजार, ३ हजार र १ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए ।

प्रतियोगिताको अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बालबिबाह, बालहिंंसा संगै महिला हिंसा विरुद्धका अभियानमा विद्यार्थीको सक्रियता आवश्यकता रहेको बताईन् । उनले दमन, यातना र दुब्र्यवहारका घटना हुन नदिन सचेतनामुलक कार्यलाई विद्यालयस्तरबाट समेत सञ्चालन गरिने बताईन् । प्रतियोगितात्मक कार्यक्रममा गाउँपालिका भित्रका वडा अध्यक्ष, विद्यालयका शिक्षक, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता वडा नं ६ दरबाङका अध्यक्ष सन्तनाथ सुबेदी र सञ्चालन जनप्रिय माविका शिक्षक बालकृष्ण शर्माले गरेका थिए । । प्रतियोगितामा १० विद्यालयबाट २० विद्यार्थीले सहभागिता जनाएका थिए ।