पुख्यौलीको चिनारी खोज्दै प्रतिभा पुन

0
794

पुनमगर समुदायमा पुस्ताले सुम्पिएर गएको पुराना कला र संस्कृति पश्चिमा संस्कृतिले छपक्कै छोपेको अवस्थामा लोभ हुने अवस्थामा पुगेपछि लोपउन्मुखको सुचीमा पर्ने खतराबाट जोगाउन पर्वत जिल्लाको बासखर्क घरभई हाल ललितपुरमा बस्ने प्रतिभा पुनले पुख्यौलीको संरक्षणमा साविकको धौलागिरी अञ्चलभित्रको म्याग्दी, पर्वत र बागलुङका विभिन्न बस्तीमा स्थलगत रुपमै पुगेकी छन् ।

पुख्यौलीका सर्जकहरु पनि उनलाई इतिहास बताउन निकै सक्रिय हुन्छन् । एमफिल अध्ययनमा पुख्यौली सम्बन्धि गतिविधिमै आधारित थेसिस समेत पुरा गरेकी छन्। ‘पुख्यौली पुनमगर समुदायको अमुल्य निधी हो,‘पुराना पुस्ताको मेहनतलाई जोगाउन पनि नयाँ पुस्तालाई यसमा आर्कषित गर्नुपर्छ’ पुनले भनिन् ।उनले पुख्यौली नाचको स्थलगत रुपमै पुगेर अवलोकन गर्दा पुराना कला र संस्कृतिलाई अझैपनि जोगाउन सकिने अवस्था रहेको बताउँछिन् । सामुहिक रुपमा गाउने र नाँच्ने पुख्यौली नाच म्याग्दी जिल्लाको पहिचान बन्दै गएपनि नयाँ पुस्तालाई सक्रिय बनाउनुपर्नेमा उनको जोड छ ।

आफ्ना पूर्वजका भाषा, वेशभुषा, संस्कार, इतिहास, रीतिरिवाजहरु पुर्खाले हस्तान्तरण गरेकाले पनि पुख्यौली नाचलाई पुर्खाले सन्ततीलाई उपहार दिएकाले पनि संरक्षणमा सक्रिय हुनुपर्ने पुनको भनाई छ । उनका अनुसार सयौंबर्ष पुरानो इतिहास रहेको पुख्यौली जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुमा पर्ने जन्म, विवाह, भात खुवाइ, छेवरपास, मेलापर्व, उत्सव, स्वागत तथा सम्मान लगाएतका पर्वहरुमा पुख्यौली समुहको उपस्थिती हुन्छ । मृत्यु संस्कारमा गाउने समुह सक्रिय भएपनि नाचलाई भने कम प्राथमिकता दिने गरिन्छ ।

मृत्युलाई कुरेर बसेका बृद्धबृद्धालाई समेत पुख्यौली नाचको धेरै चिन्ता रहेको आफुँले पाएको बताउँदै यसै क्षेत्रमा पिएडी गर्ने सोच रहेको बताईन् । उनले पुख्यौली, लोकगीत र लोकनाचलाई दस्तावेज बनाएर नयाँ पुस्तलाई हस्तान्तरण गर्ने अभियान अन्तरगत पुख्यौली लोकनाचको एक चिनारी समेत प्रकाशित गरेको बताईन् । पुनको अभियानमा पुनमगर समुदायका अगुवा तथा संघसंस्थाले समेत खुलेरै सहयोग गरेका छन् ।

अहिले गाउँबस्तीमा पुख्यौली लगाएत पुराना लोकभाकाका बारेमा बुझ्न पुग्ने गरेकी पुनले पुस्ताको सम्पत्तीलाई लोभ हुनबाट जोगाउन समुदायले खेलेको भूमिकालाई राज्यका निकायले समेत सहयोग गर्नुपर्ने बताउँछिन् । प्रतिभाको सक्रियताले पुख्यौलीको संरक्षणमा सहज भएको पुन मगर समाज यूकेका अध्यक्ष तेज राम्जाली पुनमगरले बताए । उनका अनुसार प्रतिभाको अभियानमा निरन्तर सहयोग गर्ने बताए । प्रतिभाको पुस्तक सहित अभियानमा पुन मगर पु्ख्यौली संरक्षण समुह यूकेका अध्यक्ष बिल पुर्जा पुन मगर लगाएत विभिन्न संघसंस्थाले समेत सहयोग गरेका छन् ।

म्याग्दीको सहरबजार देखि दुर्गम बस्तीसम्म छरिएर बसोबास गदैं आइरहेका मगर, छन्त्याल, गुरूङ समुदायले पुर्खाको पालादेखि गाईदै र नाचिँदै आएको हुनाले परम्परालाई पालना गदैं मनोरञ्जन प्राप्त गर्ने गरिएकाले पनि ब्यक्तिगत उत्सव देखि सामाजिक अभियानमा पुख्याको चिनारी पुख्यौली नाच लिएर जाने गर्दछन् । सहभागी, गीत, संगीत, अभियन, शैली र उद्देश्य गरी सात तत्व भएको नाचमा सबैको आफ्नो भूमिमा खुलेर प्रस्तुत हुन्छन् । पुनले सबै क्षेत्रमा पुगेर आफ्नो अभियानका बारेमा समेत बताउने गरेकी छन् ।