कालिगण्डकी नदीको कटानले असुरक्षित बन्दै गएको बजार संरक्षणमा म्याग्दी र पर्वतका स्थानीय तहले सक्रियता देखाएका छन् । बर्षेनी नदीले धार परिवर्तन गरी दुबै जिल्लाको बजार क्षेत्रलाई जोखिममा पारेपछि बुधबार आयोजित छलफलमा बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकाले बेनीबजार र पर्वतबेनीलाई नदी कटानबाट जोगाउन भइरहेका प्रयासलाई प्रभावकारी अनुगमन तथा थप बजेटको माग गर्ने निर्णय गरेका छन् ।

दुवै बजारमा भइरहेको संरक्षणको कार्यलाई संगैसंगै लैजाँदै नदीको धार परिवर्तन गरी बिच भागबाट बगाउने गरी बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ संयोजक र जलजला गाउँपालिका प्रमुख रामकृष्ण मल्ल उपसंयोजक रहेको समन्वय समिति गठन गरिएको छ ।  समितिको सदस्यमा बेनपा वडा नं २ का वडा अध्यक्ष हिराबहादुर थापा, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, जलजला गापा–२ का अध्यक्ष गोविन्द खत्री र वडा नं ३ का अध्यक्ष रबी भण्डारी सदस्य रहेको समिति गठन गरिएको बेनी नगरपालिका प्रबक्ता समेत रहेका बराईलीले बताए।

उनका अनुसार छलफलमा दुवैतर्पmको संरक्षणालई सघाउने, रुपाताल संरक्षण परियोजना मार्फत संघ्रीय सरकारलाई बजार संरक्षणमा बजेट माग गर्ने,आपत्कालिन अवस्थामा तत्कालै बैठक बसेर अगाडी बढ्ने सहमति भएको बताए । बेनीबजार र पर्वतबेनी कालिगण्डकी नदी कटानको उच्च जोखिममा रहेको छ । छलफलमा जलजला गाउँपालिकाका अध्यक्ष मल्लले गाउँपालिका भित्रका बस्तीहरूलाई संरक्षणका कार्यहरुलाई थप प्रभावकारी बनाउने बताउँदै छिमेकी जिल्लामा भइरहेका संरक्षणका कार्यमा समेत सहभागिता हुने बताए ।

‘दुई जिल्लाको बजार क्षेत्र संरक्षणमा समन्वय भइरहेको छ,‘बस्तीलाई असर नगर्ने गरी योजना बनाउन प्रतिबद्ध छौ’ मल्लले भने । उनले धार परिवर्तनले दुवै जिल्लाको बजार सहित बस्तीलाई असर गर्ने भएकाले पनि सुरक्षित गर्न बजेटको आवश्यकता रहेको बताए । विगतका बर्षमा नदी कटान संरक्षण आर्थिक बर्षको अन्त्यमा हुदाँ गुणस्तरीय हुन नसकेको तथा सरकारी प्राविधिक पक्षको गम्भीर कमजोरीले पाँच करोडको आरसिसी पर्खाल कालिगण्डकीले बगाएको थियो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बजार संरक्षणमा प्रदेश तथा संघीय सरकारले समेत बजेटमा प्राथमिकता दिएको बताए ।

‘दुवै जिल्ला तर्फ पक्की संरचनाका लागी पहल भइरहेको छ,‘बजार जोगाउन दुवैतिर दिगो हुने संरचनाको आवश्यकता छ’ श्रेष्ठले भने । प्रसिद्ध धार्मिकस्थल गलेश्वर आसपासबाट संरचना बनाउन आवश्यक रहेको जनप्रतिनिधिले जोड दिएका छन् । कालिगण्डकीलाई म्याग्दी नदीको संगमस्थलसम्म सुरक्षित बनाउने दुवै जिल्लामा करोडौ बजेट आवश्यकता रहेको जनप्रतिनिधिको भनाई छ । वि.श २०७२ जेठ १० गते १६ घण्टा कालिगण्डकी नदी थुनिएपछि बजार संरक्षणमा बर्षेनी बजेटको माग गर्ने गरिएको छ ।