सयौं बर्ष अगाडी स्थानीय प्रविधि र उपकरणको प्रयोग गरी मंगलाघाटमा निर्मित झोलुङ्गे पुलको पुरानै स्वरुपमा मर्मत गरिएको छ । तत्कालिन समयमा म्याग्दीको सदरमुकाम बेनी मंगलाघाटबाट ज्यामरुककोट जोड्ने ऐतिहाँसिक पुल जिर्ण भएपछि पुरानै काठ फेरिएको छ । बेनी नगरपालिका वडा नं २ र ७ जोड्ने पुल मर्मत सम्भार नहुदाँ आवतजावतमा समस्या भएपछि बेनपा–७ को पहलमा भइरहेको मर्मतमा पुरानै स्वरुपमा रहने गरी जाली, साङ्ले लठालाई समेत परिवर्तन गरिने वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

‘पुललाई आवतजावतमा सहज हुने गरी मर्मत गर्दैछौ,‘नयाँ भन्दा पनि पुरानै आकारमै मर्मत गरिएको छ’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनका अनुसार मर्मतका लागी ३ लाख विनियोजन भएपनि केही अपुग हुने बताए । उनले पुलको इतिहासलाई झल्कने गरी मर्मत गरिएको बताए । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग बनाइएको थियो । करिव १३१ बर्ष पुरानो पुलबाट दैनिक आवतजावत गर्ने गरिएपनि पुराना काठ र लठा समेत चुडिने अवस्थामा पुगेपछि मर्मतमा स्थानीयले चासो देखाएपछि वडा कार्यालयले बजेट विनियोजन गरेको थियो ।

तत्कालिन समयमा बागलुङ गलकोटका लालप्रसाद शेरचनले काँचो फलाम र पश्चिम म्याग्दीको रुममा स्थानीयले पुलमा प्रयोग गरेका साम्रागी र सीपलाई प्रयोग गरी पुल हालेका थिए ।ग्रामिण क्षेत्रबाट पशुचौपाया, खाद्यान्न साम्रागी, बजारमा आवतजावत गर्न प्रयोग गर्ने पुल बनेसंगै मंगलाघाट बेनीकै प्रमुख ब्यापारिक केन्द्र समेत बनेको थियो । करिव चारदशक सम्म मंगलाघाटको ब्यापारको प्रमुख कारण पुल भएको स्थानीय बृद्धबृद्धाको भनाई छ ।

काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठा बनाएर जोखिमपूर्ण तरिकाले खोलामा हालिएको बताउँदै प्राचिनकालको झल्को दिने गरी पुलको मर्मत गर्नुपर्ने बताए। माथि र तल गरी दुई वटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे पुलबाट ज्यारुमककोट, भकिम्ली, बरंजा, अर्जम, निस्कोट,दरबाङ, रुमका साथै छिमेकी जिल्ला बागलुङ जाने सर्वसाधारणले प्रयोग गर्ने गरेका थिए ।२०१४ सालमा म्याग्दीको बावियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाती भिमप्रसाद शेरचनका दाजुभाईले समेत मर्मत गरेको बताइन्छ ।