म्याग्दीकी सियानाको भारतमा कलेजो प्रत्यारोपण सफल

कलेजोमा समस्या देखिएपछि भारतमा उपचार गराइरहेकी अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी ९ महिनाकी सियाना रन्तिजाको कलेजो प्रत्यारोपण गरिएको छ । भारतको न्यू डिल्लीस्थित सर गंगाराम अस्पतालमा १८ घण्टा लामो शल्यक्रिया गरेर सियानाको सफल प्रत्यारोपण गरिएको हो । सियानालाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले कलेजो दान दिएका थिए ।

‘मेरो छोरीले नयाँ जीवन पाएकी छन्,‘लामो शल्यक्रियापछि सफल प्रत्यारोपण भएको छ’ सियानाकी आमा रेश्मा रन्तिजाले भनिन् । उनका अनुसार २ महिना देखि नियमित चेकजाँच सहित पटकपटक गरिएको प्रयासमा आफ्नो र श्रीमानको कलेजो म्याच नभएपछि डोनरको खोजी भइरहेको अवस्थामा परोपकारी संस्था कोषले डोनरको खोजी गरेको बताईन् ।‘ओमकुमारी शान्ति कोष र चन्द्र सरलाई ब्यक्त गर्ने शब्द छैन्,‘उहाँहरू भगवान हुनुहुन्छ’ रेश्माले भनिन् ।

उनले छोरीको समस्यालाई भगवानलाई पुकार गर्दा समेत पुरा नभएको अवस्थामा भगवानकै रुपमा आएर कलेजो दान तथा सम्पूर्ण कानुनी प्रक्रियामा सहयोग मिलेको बताईन् ।उनका अनुसार कानुनी प्रक्रिया सहित नेपाल र भारतमा आवश्यक पर्ने कागजातमा समेत डोनरले नै सघाएकाले सहज भएको बताईन् । यता आफ्नो कलेजोले दान गरेपछि कोषका संस्थापक अध्यक्ष केसीलाई आइसियूमा राखेर उपचार गरिएको छ ।

केसीको अवस्था समान्य भएपनि संक्रमण तथा अन्य समस्यालाई मध्यनजर गरी चिकित्सकले निगरानीमा राखेको कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘कोषको अभियानमा यो ठूलो सफलता हो,‘दुवैजनालाई नियमित चेकअफको आवश्यकता पर्छ’ शाक्यले भने । उनले सियानाको प्रत्यारोपण सहित थप १५ लाखको हाराहारीमा आर्थिक सहयोग आवश्यकता पर्ने बताउँदै सहयोगको अपिल समेत गरिएको बताए । कोषका संस्थापक अध्यक्ष केसीलाई समेत नियमित चेकजाँच सहित चिकित्सकको सल्लाह अनुसार कोषले नै सहयोग गर्ने बताए ।

केसीको शरीरबाट ३० प्रतिशत कलेजो निकालेर सियानालाई प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणमा विशेषज्ञ डा.निमेश र डा. बिशालका नेतृत्वमा रहेको चिकित्सकको टोलीले उक्त प्रत्यारोपण गरेको थियो । सफल प्रत्यारोपणको खोसीयालीमा सियानाका आमाले अस्पताल भित्र रहेका विरामीलाई समेत आफ्नो छोरीको नयाँ जीवनको बारेमा खुसी साटासाट गरेकी थिईन् । डोनर ३ दिन आइसियूमा र ११ दिन अस्पतालमा बसेर डिस्र्चाज हुने छन् भने सियाना ३० दिन अस्पतालमै चिकित्सकको उच्च निगरानीमा राखिने छ ।